जनता टाइम्स

६ फाल्गुन २०७८, शुक्रबार १८:००

एमाले महासचिव पोखरेलको घोषणा : प्रचण्ड-माधव महाअपराधी हुन, सहकार्य संभव छैन (भिडियोसहित)


काठमाडौं, फागुन ६ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिष्ट आन्दोलनको महाअपराधीको संज्ञा दिनुभएको छ ।

नेकपा एमाले बागमति प्रदेशको आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रचण्ड माधवले बामपन्थीको नाममा पाएको जनमतलाई कांग्रेसमा लगेर बिक्री गरेको कारण महाअपराधी नै रहेको ठोकुवा गर्नुभयो ।

‘दक्षिणपन्थी अवसरवादको आजको प्रतिनिधि पात्र भनेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल हो । बामपन्थी सरकार निर्माणका लागि दिइएको जनमतलाई कम्युनिष्ट सरकार ढालेर अर्काे प्रतिक्रियावादीलाई बिक्री गर्ने काम प्रचण्ड माधवले गरे,’ महासचिव पोखरेलले भन्नुभयो, ‘त्यसकारण प्रचण्ड र माधव सामान्य अपराधी मात्रै होइनन, महाअपराधी हुन । यो कुरालाई निसंकोच भएर जनताको बीचमा लानुपर्छ ।’

महासचिव पोखरेलले माधव नेपाल नेपालको इतिहासमै बिधि, पद्धती र अनुशासन उलंघनमा खलपात्रका रुपमा प्रमाणित भएको तथ्य पनि राख्नुभयो । ‘ माधव नेपालले बिगतमा जे छवी बनाएका थिए, पछिल्लो समयमा बिधि पद्धती, अनुशासन उलंघन गर्ने कुरामा रेकर्ड तोडने नेता र खलपात्रका रुपमा स्थापित हुनुभयो,’ पोखरेलको भनाई थियो । पोखरेलले अव पनि माधव नेपाल र प्रचण्डलाई पनि मिलाएर जाँदा जनताको माया पाइन्छ भन्ने भ्रम छ भने त्यो त्याग्नुपर्ने बताउनु भयो ।

‘प्रचण्ड र माधवतिर लागेका पालिकाका इमान्दार कार्यकर्तालाई एमालेमा ल्याउनु पर्छ तर प्रचण्ड र माधव पनि कम्इुनिष्ट नै हुन भनेर मिलाएर लान पाए हुन्थ्यो कि भन्ने दिगमागमा छ भने त्यो मानसिकता र दिमागबाट पार्टी निर्माण हुँदैन, जनताको माया पाईंदैन,’ पोखरेलले भन्नुभयो ।

उहाँले प्रचण्डको भ्रमजालमा परेर माओवादीतिर लागेका र माधवको अनुहार चिन्न नसकेर नेकपा एसतिर लागेका कार्यकर्ताको भने कुनै दोष नरहेको भन्दै एमाले भित्र्याउने अभियान थाल्न निर्देशन दिनुभयो ।