काठमाडौं, असार २०
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले डा.बाबुराम भट्टराईको बौद्धिकता अन्य ठाउँमा काम नलाग्ने भन्दै नेकपामा फर्किन आग्रह गर्नुभएको छ । भट्टराईको पार्टीका प्रभावशाली नेताहरुलाई आज नेकपामा प्रवेश गराएपछि अध्यक्ष प्रचण्डले सो आग्रह गर्नुभएको हो ।
प्रचण्डले नेकपामा फर्किए बेगर डा. भट्टराईको पिएचडीले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने ठोकुवा गर्नुभयो । पार्टी एकता प्रकृयामा आउन पूर्वसहकर्मी भट्टराईलाई पटक पटक प्रचण्डले आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मोहन वैद्य किरण, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि पार्टी एकता प्रकृयामा आउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफूहरु उल्लेखित सवै नेतालाई सम्मान दिन तयार रहेको घोषणा पनि गर्नुभयो ।
प्रचण्डले नेपालको शान्ति प्रकृया र पार्टी एकता भाड्न चलखेल भएको खुलासा पनि गर्नुभयो । नेपालको शान्ति प्रकृया भाड्न केही व्यक्तिलाई यूरोप घुमाइएको प्रचण्डको भनाई थियो । पार्टी एकता रोक्ने अनेकौं प्रयास भैरहेको पनि उहाँले बताउनु भयो ।
‘पार्टी एकता र शान्ति प्रक्रिया भाँडन अनेकौं चलखेल भइरहेको छ, तर यसलाई हामी सवै मिलेर परास्त गर्नुपर्छ,’ प्रचण्डको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्