जनता टाइम्स

२० असार २०७६, शुक्रबार १५:०९

कसैले चाँहदैमा नेकपा फुटदैन, फुटाउने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, असार २०

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा विभाजन ल्याउन केही शक्तिहरु निकै सक्रिय भएको भन्दै त्यस्थो सपना नदेख्न चेतावनी दिनुभएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी फुटाउने सपना नदेख्न चेतावनी दिनुभएको हो ।

नेकपा फुटोस भन्ने चाहना एक थरीले गरेको उल्लेख गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेकपा फुटोस भनेर एक थरीले कामना गरेका छन । पार्टी फुटको अर्थहीन कामना गर्ने छुट छ । कसैले चाँहदैमा नेकपा फुटदैन । नेकपा फुटाउने सपना कसैले नदेखे हुन्छ ।’ प्रधानमन्त्री ओलीले देश बनाउने महान अभियानमा जुट्न सबैलाई आव्हान पनि गर्नुभयो । देश बनाउने अभियानमा लाग्दा व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा उहाँको जोड थियो । देश बिकास रोक्न समेत केही शक्ति बिरोधमा उत्रिएको ठोकुवा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।

आइफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनप्रतिसमेत प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनु भयो । थोरै लगानी गरेर धेरै प्रतिफल प्राप्त गर्ने कार्यक्रम रोकिएको उहाँको भनाई थियो ।

पराजीत हुनेहरुको कामै आलोचना

प्रधानमन्त्री ओलीले चुनावमा पराजय भोगेका दलले जितेर सत्ता चलाउनेको आलोचना गर्न पाउने बताउनु भयो । प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले चुनाव हारेकाले आलोचना जति गरे पनि हुने बताउनु भएको हो । ‘चुनाव पनि हार्ने, आलोचना गर्न पनि नपाउने भन्ने छैन, आलोचना गर्न नपाए के गर्नु ? खुलेर आलोचना गर्नाेस,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले आलोचनाले गलत भइहालेको खण्डमा आफूहरुलाई सच्चित मद्दत पुग्ने समेत बताउनु भयो ।

मास्क लगाउँदा स्वास्थ्यलाई फाइदा

प्रधानमन्त्री ओलीले मास्क लगाउँदा स्वास्थ्यलाई फाइदै हुने बताउनु भयो । अब कसैले मास्क लगाउनु पर्दै भन्ने आफ्नो भनाईको मजाक उडाइएपछि प्रधानमन्त्री ओलीले यस्तो जवाफ फर्काउनु भएको हो । ‘मैले काठमाडौंमा पहिले भन्दा अहिले धुलो निकै कम भएको छ भनेको हुँ, अब कसैलाई मास्क लगाउने बानी परेको छ भने, लगाइ राख्नुहोस । मास्क लगाउँदा स्वास्थ्यलाई फाइदै हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

बाबुराम मात्र हैन, सिंगै समाजवादी पार्टी अटन सक्छ

प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताउनु भयो । नेकपा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने बताउनुभयो ।

‘कहिले ढिस्काले बाटो छेकेर भंगालाहरु यताउति लाग्छन, कहिले बाटो भूलेर, पुल मुनी भंगालै भंगालामा छरिएको नारायणी नदी अलि तल पुगेपछि मुल बहावमै मिसिन्छन् । त्यस्तै कम्यूनिष्ट पार्टीबाट बेला बेलामा छुटिएर गएका साथीहरु फेरी अहिले मुलधारमै आउनु भएको छ । उहाँहरुलाई स्वागत छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन, सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने बताउनुभयो । ‘देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्ने होइन । आउनोस, सबै मिलौं, देश बनाऔं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । नेपालमा पहिले राजनीतिका मात्र कुरा हुने गरेकोमा अहिले विकासका कुराले प्रधानता पाउन थालेको तथ्य पनि उहाँले राख्नुभयो ।

‘जनताका समस्या भन्दा सरकार टाढा छैन । जनताका आवश्यकतालाई मनन गरेर हामी काम गर्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीमा कुनै मतभेद छैन । व्यक्तिगत स्वार्थलाई गौंण र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर विकसित देश बनाउन हामी लागि परेका छौं ।’

कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेताहरु कल्पना धमला, देवेन्द्र पराजुली, गुणखर भूसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गर्नुभयो । उहाँहरुलाई प्रधानमन्त्री एवं अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराउनु भएको हो ।