जनता टाइम्स

२० असार २०७६, शुक्रबार २०:४५

पत्रकार महासंघलाई सुवास नेम्वाङको प्रस्ताव : मिडिया काउन्सिल बिद्येयक सच्चिन्छ, आन्दोलन फिर्ता लिनोस


नेपाल पत्रकार महासंघको आन्दोलन र सुझावकै आधारमा हामीले मिडिया काउन्सिल बिद्येयकलाई होल्डमा राखेका छौं, राष्ट्रिय सभामा दर्ता भएर सांसदलाई बितरणबाहेक अरु कुनै काम अघि बढाइएको छैन,’ नेता नेम्वाङले भन्नुभयो, ‘तपाईहरुको भवानाअनुसार नै मिडिया काउन्सिल बिद्येयक सच्चिन्छ, त्यस्को जिम्मा म लिन्छु, आन्दोलन फिर्ता लिनोस

काठमाडौं, असार २०

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मिडिया काउन्सिल बिद्येयकको बिषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन नेपाल पत्रकार महासंघलाई आग्रह गर्नुभएको छ ।

बिद्येयकको बिषयलाई लिएर आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघलाई संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट औपचारिक रुपमा आमन्त्रण गरी उपनेता नेम्वाङले सो प्रस्ताव गर्नुभएको हो । ‘नेपाल पत्रकार महासंघको आन्दोलन र सुझावकै आधारमा हामीले मिडिया काउन्सिल बिद्येयकलाई होल्डमा राखेका छौं, राष्ट्रिय सभामा दर्ता भएर सांसदलाई बितरणबाहेक अरु कुनै काम अघि बढाइएको छैन,’ नेता नेम्वाङले भन्नुभयो, ‘तपाईहरुको भवानाअनुसार नै मिडिया काउन्सिल बिद्येयक सच्चिन्छ, त्यस्को जिम्मा म लिन्छु, आन्दोलन फिर्ता लिनोस ।’

नेता नेम्वाङले आज साँझ महासंघका अध्यक्ष गोबिन्द आचार्यसहितका पदाधिकारीसँग मिडिया काउन्सिल बिद्येयकको बिषयमा लामो छलफल गर्नुभएको हो । महासंघ पदाधिकारीलाई नेता नेम्वाङले नै आमन्त्रण गरी प्रेस स्वतन्त्रतामा कँही कतै आँच आउने काम प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको नेतृत्वले गर्न नदिने प्रष्ट पार्नुभयो । ‘मैले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग छलफल गरेको छु, उहाँहरुले मलाई नै मिडिया काउन्सिल बिद्येयकको बिषयमा सहमति गरी सवै पत्रकार मित्रहरुले दिपावली गर्ने अवस्था बनाउनोस भन्नुभएको छ, तपाईहरुले बुझाउनु भएको १६ बुँदा पनि मलाई थाह छ, त्यस्लाई सम्बोधन गर्न नसकिने कुरा छैन,’ नेता नेम्वाङको भनाई थियो ।

बार्तामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, उपाध्यक्ष बिपुल पोखरेल, महासचिव रमेश बिष्टसहितका पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्थ्यो । महासंघका नेताहरुले मिडिया काउन्सिल बिद्येयक फिर्ता हुनुपर्ने नभई प्रेस स्वतन्त्रताबिरोधी प्रावधान संशोधन गरेर पारित गर्नुपर्ने नै आफूहरुको भनाई रहेको बताउनु भएको थियो । बार्तापछि महासंघका महासचिव रमेश बिष्टले छलफल निकै सकारात्मक रहेको जनताटाइम्स डटकमसँग बताउनु भयो ।

‘छलफल अत्यन्त सकारात्मक ढंगबाट अघि बढेको छ, हाम्रो माग सम्बोधन हुन्छ भन्नेमा अव ढुक्क भएका छौं,’ बार्तापछि महासचिव बिष्टले भन्नुभयो । उहाँले पत्रकार महासंघले आन्दोलन तताउने नभई संबिधानले तय गरेको प्रेस स्वतन्त्रताअनुसार मिडिया सम्बन्धी कानून आउनुपर्छ भन्ने आवाज मात्रै उठाएको पनि प्रष्ट पार्नुभयो ।

अध्यक्ष आचार्य र उपाध्यक्ष पोखरेलले पनि आजको छलफल अत्यन्तै सकारात्मक, फलदायी र नेपाली प्रेसले चाहेअनुसार भएको बताउनु भयो । ‘उहाँ (नेम्वाङ) ले नेपाली प्रेसको भावना भन्दा बाहिर गएर बिद्येयक पारित हुँदैन, संशोधन हालेर सवैले स्वीकार गर्ने र आफ्नो भावनाअनुसार आयो भन्ने बनाउने अठोट गर्नुभयो, उहाँले बिद्येयक सच्याउने जिम्मा लिनुभयो, हामी अत्यन्तै आशावादी भएका छौं,’ जनताटाइम्स डटकमसँग महासचिव बिष्टको भनाई थियो ।

महासंघको टोलीसँग नेता नेम्वाङले बिद्येयकलाई सच्याउने जिम्मा आफूलाई दिएर आन्द्योलन फिर्ता लिन आग्रह गर्नुभएको थियो ।