जुम्ला, १० फागुन । भनिन्छ, १२ वर्षमा खोला पनि फर्किन्छ । तर, जुम्लाको कनकासुन्दरी–७ रोकायाबाडामा निर्माणधीन छालसेरी जलविद्युत आयोजना १२ वर्षमा पनि निर्माणसम्पन्न भएको छैन । जसका कारण कनकासुन्दरी वडा नम्वर ७ र ८ का ११ सय घरधुरी १२ बर्ष देखि बिजुली बाल्ने आशमा छन् । यो वडा कर्णाली प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायको जन्म गाउँ पनि हो ।
स्थानीयले आयोजना निर्माण छिटो गर्न र गाउँमा बिजुली पुर्याउन रोकाय सांसद हुँदादेखि नै पटक-पटक आग्रह गरेका थिए । रोकाया मन्त्री नै बनिसकेपछि स्थानीयको बिजुली बाल्ने आशा झनै मौलाएको थियो । मन्त्री रोकायाले पनि आयोजना निर्माणको लागि एक करोड ३० लाख रुपैयाँ सांसद कोष र निर्वाचन क्षेत्र कोषबाट छुट्टाएकाको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बिजुली बाल्न बजेटको अभाव छैन । तर, उपभोक्ता समितिले नै आयोजना बनाउन ढिलाई गरिरहेका छन् । उपभोक्ताको लापरबाहीका कारण गाउँ अहिले पनि अन्धकार छ ।’ यही योजनाको लागि तत्कालिन पाण्डगुफा गाउँ विकास समितिबाट पहिलोपटक १५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको थियो ।
त्यसपछि क्रमशः दोस्रो पटक १३ लाख रुपैयाँ, तेस्रो पटक सात लाख रुपैयाँ, गरिबी निवारण कोष जुम्लाबाट ४८ लाख रुपैयाँ, कनकासुन्दरी गाउँपालिकाबाट २० लाख रुपैयाँ, अध्यक्ष र उपाध्यक्ष कोषबाट १३ लाख रुपैयाँ, कनकासुन्दरी–८ ले पहिलोपटक १३ लाख रुपैयाँ, दोस्रोेपटक आ७ लाख रुपैयाँ, र वडा नम्बर ७ बाट पहिलो पटक ६ लाख रुपैयाँ, दोस्रो पटक पाँच लाख रुपैयाँ बजेट दिइसकेको छ ।
१२ गाउँका ११ सय घर बिजुलीविहीन
कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेका १२ गाउँका ११ सय घरमा बिजुली छैन । बिजुलीको बनाउदै १२ वर्ष भइसकेको छ । निर्माणको काममा ढिलासुस्ती हुँदा आरसीसी नहर भत्किन थालिसकेको छ । कतै जिर्ण बनिसकेका छन् भने कतै ढुंगाले नहर भरिएका छन् । पाइप फुटेका छन् । पोल ढलेका छन् । तार चुटिएका छन् । केहीँ ठाउँमा पोल हाल्न बाँकी छ । मेसिन पनि बिग्रेकोले तत्काल बत्ती बल्ने अवस्था देखिँदैन ।
बिजुलीका नाममा बजेट ल्याउने, आफन्तहरू उपभोक्ता समितिमा राख्ने र बिजुली बनाउने कामलाई कमाइ खाने भाँडो बनाउने गरेको स्थानीय माधव काफ्ले बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘बजेट आउने बित्तिकै उपभोक्ता समिति गठन गर्ने, एकै समितिले हुने ठाउँमा चार वटासम्म समिति चलाउने गरेकोले समस्या आएको हो ।’ यहाँका नागरिक हरेक दसैं र तिहारमा बिजुली बल्छ की भनेर आशामा बस्छन् ।
तर, १२ वर्षदेखिको दसैं अन्धकारनै छ । १२ बर्षदेखि बिजुली बाल्ने सपना पूरा हुन नसकेको स्थानीय धर्मलाल प्याकुरेल बताउँछन् । उहाँले भन्नुभयो, ‘यो योजनामा बजेटको अभाव छैन । तर काम हुँदैन । बिजुली जोड्न भनेर आएका इन्जिनियर र प्राविधिकले नै गलत गर्छन । वडा नम्बर ७ का वडाध्यक्ष धनजित रोकायाले भने, ‘बिजुली बले पनि बेयरिङ बिग्रने ठुलो समस्या छ ।’ अबको केही दिनभित्र आयोजनको बिजुली बल्ने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्