तारा पराजुली
आज बा को जन्मदिन
घाम अली सबेर झुल्कियो
किन साविकभन्दा सबेर ?
आफैँलाई पटक पटक प्रश्न गरिरहें
तिमीलाई शुभकामना दिन रहेछ ।
जब घामसँगै तिमी मुस्कुराइरहेको देखें
लौरो टेकेर मुस्किलले भित्र बाहिर गर्ने
ज्येष्ठ जुनको ओठको खुशी बनेर
खिइएका केरमेट केरमेट
हस्तरेखा र हातका चक्र बोकिहिँडने
तमाम मजदुरहरुको भोकको ओखती बनेर
आदिम बेसहाराहरुको
सहाराको लहरा बनेर
तिमी लहराई रह्यौ
युग बोक्ने आशाका कलिला
फूलहरुको सुवास बनेर
अभावका वस्तीहरुमा
पूर्ण भावको भरिलो जुन विश्वास बनेर ।
जबजब कठोर कर्महरूको सिंडी चढेर
तिमी एउटा सार्वभौम उचाईमा पुग्यौ
तब मैले कर्मलाई थप प्रेम गर्न सिकेको हुँ
पढेको हुँ पसिनाको परिभाषा
माया गर्न सिकेको हुँ श्रमको नदीलाई ।
यहाँ कर्मवीरहरु
सधै सबैले सम्झिइरहने इतिहास बन्ने गर्छन,
तिमी आफै अनेक इतिहास हौ
हजार संस्करणहरुका पृष्ठपृष्ठ भएर
पढिरहेछ दुनियाँले तिमीलाई
‘बा’ आज तिम्रो जन्मदिन
पढेर नसकिने पुस्तक हौ तिमी
लेखेर नसकिने कहानी हौ तिमी
दुःखका अक्करहरु हिंडेर
कहिल्यै नथाक्ने
अविराम गति हौ तिमी ।
तिमी शक्ति हौ सामथ्र्य हौ
ओझेलका वस्तीहरुमा उज्यालो भई पुग्ने
कहिल्यै ननिभ्ने उज्यालो हौ ।
‘बा’ आज तिम्रो जन्मदिन
म सम्झिरहेछु
तिमीसँगै जन्मिएका
हरेक जीवित विचारहरु
मान्छेहरु जीवन जगत बुझ्न दर्शन पढछन
मैले तिमीलाई पढेर
थुप्रै पटक अनेकौं दर्शन भेटेको छु
त्यसैले तिमी आफैँ इतिहास हौ
दर्शन हौ ।
विज्ञान हौ
तिमी धर्म हौ
तिमी सभ्यता इन्द्रेणी हौ
विचार र व्यवहारको अब्बल संयोजन हौ
आविष्कार हौ
अनेकौं चेतनाको स्रोत हौ ।
हिँडदै जाँदा ठेस लागे
बाटो र यात्रा दुबै नछोडन
तिमीवाट सिकेको हुँ ।
तिमी भन्थेउ–
‘बाटामा यात्रामा फुलैफूल भेटिन्न
कतै ढुंगा हुन्छन झारपात हुन्छन
अल्झाउँन दुखाउँछन
टेक्दै पन्साउँदै हिंड्नुपर्छ ।’
बा ! आज तिम्रो जन्मदिन
तिमीले हाँकेको विचारको जहाज चढेर
यहाँसम्म आइपुगेको छु
खुब गर्व छ मलाई तिम्रो सन्तान हुनुमा ।
‘बा’ आज तिम्रो जन्मदिन
तिमीलाई शुभकामना दिन
एउटा निरोगी घाम
तिमीसम्म आइपुगेको छ
यही घामको उज्यालो लिएर
गन्तव्य देखाउँदै
हरपल तमाम सन्तानका
आँगनमा झुल्किरहुँ
तिमीलाई मनभरी शुभकामना ।
(बेलबारी, मोरङ)













प्रतिक्रिया दिनुहोस्