जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार २०:१०

बालुवाटारमा सत्तारुढ दलको बैठक : गठबन्धन जोगाउन एमसीसी पारित गर्ने निश्कर्षमा प्रचण्ड–माधव


काठमाडौं, फागुन १४ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज साँझ छलफलमा जुटेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू सत्ता गठबन्धन बचाउन एमसीसी पारित गर्ने गरी आज पुनः छलफलमा जुटेका छन् । कांग्रेस जसरी एमसीसी पास हुनुपर्ने पक्षमा छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विषयमा फरक मत राख्दै आएका छन् ।

पछिल्लो समय प्रचण्ड र माधवले गठबन्धन जोगाउन जे पनि गर्ने भन्दै एमसीसी पारित गरेर जाने निश्कर्षमा पुगेपछि प्रधानमन्त्री देउवा उत्साहित भएर छलफलका लागि बोलाउनु भएको हो । प्रचण्ड र माधवले सत्ताका लागि जे पनि गर्ने निश्कर्ष आफ्नो पार्टीमा सुनाइ सक्नु भएको छ भने प्रधानमन्त्री देउवासँग पनि गठबन्धन जोगाइ दिन अनुरोध गर्दै आफूहरुले जसरी पनि एमसीसी पारित गराउने बाचाकवोल गरिसक्नु भएको छ ।

बिगतमा आफैले गिजोलेको बिषय भएको र पार्टीमा आफै अल्पमतमा परेको कारण निर्णय गराउन नसकेको भन्दै दुवै नेताले एमसीसी सदनबाट पारित गराउन आफूहरुले जे गर्नुपर्ने हो त्यही गर्ने बताउनु भएको स्रोतको भनाई छ । प्रचण्ड र माधव एमालेलाई समेत एमसीसीको पक्षमा मत हाल्न बाध्य पार्नका लागि अहिलेसम्म बिरोधको नाटक गरिरहनु भएको तथ्य पनि यो घटनाले उजागर गरेको छ ।