जनता टाइम्स

१७ फाल्गुन २०७८, मंगलवार ०८:५७

बलात्कार आरोपमा समातिए सांसद


नेपालगञ्ज, फागुन १७ । जबर्जस्ती करणीको आरोप लागेका एमाले सांसद मोहन बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगंन्ज विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिनुभयो । जबर्जस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
ती महिलाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्रीसमेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफै प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने सम्पर्कविहीन हुनुभएको थियो ।

पीडितले भने आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यसबारे बानियाँले त्यो सबै झूट भएको र पैसा पनि ती महिलाले पाइसकेको भन्दै अब केही कुरा पनि आफूहरूको बीचमा नरहेको भन्दै बचाउ गर्नुभएको छ ।

बानियाले कन्डम लगाएर सो रात दुई पटक बलात्कार गरेको पीडित महिलाले उल्लेख गरेकी छन । पक्राउ परेका सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुनुहुन्छ ।