जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार २१:०४

नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक, झलनाथको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने


काठमाडौं, असोज १९। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असोज २३ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा पार्टीको आसन्न महाधिवेशन, दुई महिने अभियान तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उहाँले जानकारी दिनुभएको छ।

प्रवक्ता ज्वालाका अनुसार बैठकले पार्टी महाधिवेशनको कार्यतालिकासमेत तय गर्नेछ। उहाँले महाधिवेशन र पार्टीको दुई महिने अभियानबारे छलफल गर्न बैठक बोलाइएको बताउँदै त्यसबाहेक अन्य एजेन्डा नरहेको स्पष्ट पार्नुभएको छ।

यसैबीच, बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले घोषणा गर्नुभएको ‘समाजवादी जागरण अभियान’बारे पनि छलफल हुने भएको छ। खनालले पार्टी कारबाहीमा परेका नेताहरूसँग मिलेर उक्त अभियानको घोषणा गर्नुभएपछि त्यस विषयलाई बैठकमा छलफलको विषय बनाइने भएको हो।

यद्यपि, वरिष्ठ नेता खनालले आफूले पार्टी नछोडेको दाबी गर्नुभएको छ। आफूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टीबाट हटाएको भए त्यो बेग्लै कुरा भएको उहाँको भनाइ छ।

खनालले आफूले कहिल्यै कम्युनिष्ट पार्टी परित्याग नगर्ने बताउँदै ‘समाजवादी जागरण अभियान’ अलग प्रकृतिको वैचारिक अभियान भएको स्पष्ट पार्नुभएको छ। उहाँले नेकपाले कारबाही गरेका नेता हरिबाेल गजुरेल समेतलाई लिएर  ‘समाजवादी जागरण अभियान’ बनाउनु भएकाे छ ।