जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार २०:४०

सुरक्षा सूचना चुहावटको अभियोगमा सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाल निलम्बित, चाेलेन्द्र पक्राउकाे सूचना चुहाएकाे आराेप 


काठमाडौँ, असोज १९ गते। सुरक्षासँग सम्बन्धित अति संवेदनशील सूचना चुहावट गरेको तथा पदीय आचरण विपरीत कार्य गरेको अभियोगमा सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाललाई निलम्बन गरेको छ। 

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयको असोज १९ गतेको निर्णय बमोजिम उहाँलाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गर्न जाँचबुझ अधिकृत समेत तोकिएको छ। विभिन्न मुद्दाहरूमा चलखेल गरी सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको आरोपमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायतलाई सरकारले गोप्य रूपमा नियन्त्रणमा लिई सोधपुछ गर्न खोजेको थियो। तर, राणा पक्राउ परेलगत्तै एआईजी दाहाल टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्नुभएको थियो। त्यसलगत्तै पक्राउको सूचना सार्वजनिक भएपछि नेपाल प्रहरी नेतृत्वले सूचना चुहावटमा दाहालकै भूमिका रहेको दाबी गर्दै आएको थियो।

एआईजी दाहाल र पूर्वप्रधानन्यायाधीश राणाबीच पारिवारिक नाता रहेको जनाइएको छ। रातारात भेट्न जानुको कारणबारे सोधपुछ गर्दा दाहालले पारिवारिक सम्बन्धका कारण पक्राउको खबर पाएपछि भेट्न पुगेको स्पष्टीकरण दिनुभएको थियो। यद्यपि, सशस्त्र प्रहरी बल नेपालबाटै उहाँमाथि आवश्यक कारबाहीका लागि सिफारिश प्राप्त भएपछि मन्त्रालयले जाँचबुझ प्रक्रिया अघि बढाउँदै निलम्बनको निर्णय गरेको हो।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा निजामती तथा सुरक्षा निकायका कर्मचारीहरूले पदीय आचरण र गोप्य सूचनाको संरक्षण गर्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख छ। मन्त्रालयले पदीय आचरण विपरीतका गतिविधि, सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने कार्यहरूमाथि सूक्ष्म निगरानी भइरहेको र कानुन विपरीत कार्य गर्ने जोकोहीलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।