जनता टाइम्स

१८ फाल्गुन २०७८, बुधबार ०८:४९

पार्टी कार्यालयमा हमला गर्नेबिरुद्ध प्रतिकारमा उत्रने युवा संघको चेतावनी


काठमाडौँ, १८ फागुन । राष्ट्रिय युवा संघ नेपालले नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतको कार्यालयमा आक्रमण गर्ने विरुद्ध कडाभन्दा कडा कारबाहीको माग गरेको छ । संघका संयोजक किरण पौडेलद्वारा जारी प्रेस वक्तव्यमा फागुन १६ गते (सोमबार) भएको उक्त आक्रमणलाई अपराधिक तथा अराजकताको पराकाष्टाका रुपमा प्रस्तुत गरिएको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी लगायत ६ दलहरूले गरेको कथित नेपाल बन्दका क्रममा नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको कार्यालयलाई लक्षित गरी आक्रमण गर्ने दुष्प्रयासको घटनाप्रति राष्ट्रिय युवा संघ नेपालको गम्मिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ,‘नेपाली समाजको प्रगतिशील रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरी समृद्ध नेपाल, सुखी नेपालीको आघार तयार गरिरहेको, शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको तथा हाल प्रतिपक्षमा रहेको देशभक्त, जनवादी र क्रान्तिकारी पार्टी नेकपा (एमाले)को सुर्खेत जिल्ला कार्यालयमा आक्रमण गर्नुलेको आपराधिक एवं अराजकताको पराकाष्टा हो ।’

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल यस अराजक तथा आपराधिक घटनाप्रति घोर विरोध र भर्त्सना गर्दै यस्ता खाले गतिविधि गर्नेलाई पहिचानगरी कडाभन्दा कहा कारबाही गर्न मागसमेत गरेको छ । साथै, नेकप्रा (एमाले)का विरूद्ध भइरहेको चौतर्फी प्रतिक्रियावादी घेरावन्दी र पार्टी कार्यालयको आक्रमणप्रति सशक्त प्रतिवादमा उत्रिन मातहत कमिटीलाई निर्देशन पनि संघले जारी गरेको हो ।