जनता टाइम्स

२१ फाल्गुन २०७८, शनिबार १७:५३

मुस्ताङको मानापाथी हिमालमा फेरि हिमपहिरो


पोखरा, २१ फागुन । मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । कार्तिकको तेश्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो । हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका १५ चौँरी हिमपहिरोमा पुरिएर मरेको बताइएको छ ।

त्यहाँ ३९ वटा चौंरी थियो । जिल्ला प्रशासन कार्यालयले भने सात वटा मरेको र अरु हराएको जनाएको छ । १४ वटा चौँरी भने जिउँदै भेटिएको स्थानीयले बताए । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घटनाबारे खोजबिन भैरहेको बताउनुभयो । ‘के कति क्षति भयो भन्ने एकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दै छौं,’ उहाँले भन्नुभयो, ‘कार्तिकमा पहिरो झरेकै ठाउँबाट अहिले पनि झरेको हो ।’

उहाँले जलवायु परिवर्तनको असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकोले हिमालमा क्षति पुगेको बताउनुभयो । ‘तापक्रम बढेको छ । घाम लाग्ने वित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्,’ उहाँले थप्नुभयो ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् । गाउँलेलाई सोध्दा यस्ता घटना कहिलै नब्यहोरेको सुनाउँछन् ।’