कास्की, २२ फागुन । पोखरा विमानस्थलबाट हुने नियमित हवाई सेवा सातवटा ठुला सहरसम्म बिस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले पोखरालाई सातवटा ठुला सहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौ सहरको रुपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेसँगको पहुँच सहज भएको छ।
बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ। बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीनदिन (शनिबार, सोमबार र बुधबार) उडान गर्ने जानकारी दिनुभयो । पहिलो चरणमा सातामा तीनदिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको उहाँले सुनाउनुभयो । १८ सिट क्षमताको जहाजबाट उडान थालिएको उहाँले बताउनुभयो ।
बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो। पहिलो उडानमा १८ जना यात्रु गएकोमा फर्किदा १६ यात्रु पोखरा फर्केका थिए। पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ। पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताउनुभयो ।
‘पोखरा–जनकपुर हवाई उडानले प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुुग्नेछ,’ उहाँले भन्नुभयो, ‘हिमाल र पहाडलाई मधेसमा जोडिन सकेको छ।’ उहाँका अनुसार जनकपुर धार्मिक क्षेत्र भएकोले पनि त्यहाँ गएका धार्मिक भारतीय पर्यटकलाई पोखरा आउने सिधा हवाई उडानले सघाउनेछ। त्यस्तै पोखरा घुमेर जनकपुर पुग्न पनि उत्तिकै सहज हुनेछ।
‘धार्मिक र भारतीय पर्यटकलाई यो सेवाले सहज हुन्छ। भारतीय नाका नजिक भएकोले पनि पोखरा–जनकपुर उडान आवश्यक हो,’ उहाँले थप्नुभयो, ‘हवाई सेवाले मधेस क्षेत्रका आन्तरिक यात्रुलाई पोखरा आउन पनि उत्तिकै सहज हुन्छ।’ बुद्धले केहीदिन अघि मात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान थालेको थियो। यसअघि बुद्धले काठमाडौंसँगै भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म उडान गरिरहेको छ।
अबको केही समयभित्रै पोखराबाट बिराटनगर र भद्रपुरसम्म पनि उडान गर्ने तयारी रहेको उहाँले बताउनुभयो । जनकपुर भारतीय धार्मिक पर्यटकका लागि प्रख्यात गन्तव्य भएकोले पनि प्राकृतिक गन्तव्य पोखरासँग जोड्दा पर्यटनमा लाभ पुुग्ने उहाँले बताउनुभयो । भारतीय सीमाना नजिकका सहरसम्मको हवाई उडानले गति लिईरहेको पनि बरालले बताउनुभयो ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीका उपाध्यक्ष हरि अधिकारीले पनि पोखरालाई जनकपुर हवाई माध्यमले जोड्दा पर्यटनमा लाभ पुग्ने बताउनुभयो । ‘पोखरा–जनकपुर निकै नै अघि जोडिनुपर्ने गन्तव्य हुन्। यो सुरुवात ढिला भएपनि यसले पर्यटन प्रवद्र्धनमा लाभ दिनेछ,’ उहाँले भन्नुभयो, ‘कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई यस्तै सिधा र ठुला सहरसम्मको हवाई उडानले जोडिँदा लाभ मिल्नेछ।’
बुद्धले पोखराबाट काठमाडौं सहित ठुला सहरसम्म सिधा हवाई उडान सञ्जाल बिस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढने पनि उहाँले बताउनुभयो । स्थलगमार्ग असहज हुँदा अहिले हवाई यात्रु थपिएको उहाँले बताउनुभयो । ‘ठुला सहरसम्मको सञ्जाल बिस्तारले ती सहरका आन्तरिक यात्रुको पोखरा आगमन हुनेछ,’ उहाँले भन्नुभयो,‘त्यसको लाभ पर्यटनमै पर्नेमा कुनै आशंका रहेन।’













प्रतिक्रिया दिनुहोस्