जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार १६:२५

भक्तपुरको पुनर्निर्माण : लागत स्टिमेट ३७ लाख, बन्यो २४ लाखमा


भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिका वडा नम्बर ३ मा रहेको एउटा सार्वजनिक पाटीको पुनर्निर्माण सम्पन्न भएको छ । नगरको बाराहीस्थित हनुमान (भुजू) पाटीको पुनर्निर्माण सम्पन्न भएको हो । पाटीको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज उद्घाटन गर्नुभयो । भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पाटी पुनर्निर्माण भएको हो ।

यसअघि पाटी पुनर्निर्माणका लागि स्थानीय रामसुन्दर खाताखोको अध्यक्षतामा हनुमान पाटी उपभोक्ता समिति गठन गरिएको थियो । कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले २४ लाख १३ हजार एक सय २२ रुपैयाँं खर्च भएको जानकारी दिनुभयो । पाटी पुनर्निर्माणका लागि ३७ लाख १० हजार २८७ रुपैयाँ लागत स्टिमेट भएको उहाँले स्मरण गर्नुभयो । उपभोक्ता समितिमार्फत काम भएकाले लागत स्टिमेटभन्दा कम खर्च हुने गरेको उहाँले बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचना स्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने गरेको अनुभव सुनाउनुभयो । भक्तपुर नगरपालिका( ३ का वडाध्यक्ष राजकृष्ण गाराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको बताउनुभयो । कार्यक्रममा स्थानीय चन्द्रभक्त भुजू, कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीलगायतले स्थानीय पाटी बनेको भन्दै खुसी व्यक्त गर्नुभयो ।