जनता टाइम्स

२४ फाल्गुन २०७८, मंगलवार १२:४४

बोक्सी आरोपी जगमती भन्छिन्– न्याय माग्न कहाँ जाउँ ?


बुटवल, २४ फागुन । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ कि ६२ वर्षीया जगमती पासीलाई साढे तीन महिनाअघिको घटनाले अहिले पनि झस्काइरहन्छ । आफ्नै आँगनमा तरकारी बनाउँदै गरेकी जगमतीलाई एक्कासि छिमेकी परिवार आएर बोक्सीको आरोप लगाउँदै गाली गर्न थाले । गत ७ मंसिर छिमेकीले उनीमाथि लगाएको बोक्सीको आरोप अहिले पनि जगमतिको मनमा गढेको छ ।

आफ्नै छिमेकी रामजनम यादवको परिवारले आफ्नो दुई वर्षे छोराले खाना खान छोडेका भन्दै जगमतीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरे । तर, उहाँ आफू झनै कुटपिटमा परिने डरले कुनै प्रतिवाद गर्नुभएन । ‘मैले प्रतिवाद गरेको भए ममाथि परिवारै मिलेर कुटपिट गर्थे, त्यसले मैले कुनै किसिमको प्रतिवाद गरिन,’ उहाँले भन्नुभयो । बरु उहाँले एकोहोरो बोक्सी भनेर गाली गरेको सुन्नुभन्दा घरभित्र पसिन् ढोकाको चुकुल लगाउनुभयो ।

त्यसपछि छिमेकीले जगमतिको आँगनमा तील, मास, चामल छर्कनुको साथै कालो लुगा राखेर गए । उहाँ त्यसदिन निकै डराउनुभयो र छिमेकी गुहार्न पनि सक्नुभएन । तर, भोलिपल्ट आफूमाथिको आरोप लगाउनेलाई त्यसै छोड्नु हुँदैन भनेर छरछिमेक गुहार्न पुग्नुभयो । जगमतीले न्याय समिति संयोजक समेत रहनुभएको गाउँपालिका उपाध्यक्ष प्रियका सिंहसँग आफूमाथि बोक्सीको आरोपमा भएको दुर्व्यवहार सुनाउनुभयो ।

उहाँले भनेको कुरा उपाध्यक्ष सिंहका पति पवन सिंह र ससुरा राजकुमार सिंहले समेत सुन्नुभयो । पीडितका कुरा सुने पनि उनीहरूले पीडकलाई कारबाही गर्नुको साटो जगमतीलाई नै गाउँ समाजमा मिलेर बस्न सल्लाह दिए । तर, जगमतीको चित्त बुझेन । जगमती अर्को दिन गाउँपालिकाको कार्यालयमै पुग्नुभयो । उजुरी दिन जानुभएको जगमतीलाई सानो कुरामा चित्त नदुखाउ भनेर फिर्ता पठाइयो ।

गाउँपालिका उपाध्यक्ष प्रियंका सिंहले गाउँघरमा यस्ता सानातिना घटना भइरहने बताएको सुनाउँदै जगमतीले उपाध्यक्षको स्मरण गर्दै भन्नुभयो,‘यो सामान्य झगडा हो, यस्ता घटना गाउँघरतिर भई नै रहन्छन्, सानातिना घटनालाई लिएर कारबाही गर्ने कुरा भएन ।’ पीडकमाथि कानुनी कारबाही नभएपछि छिमेकीले जगमतीलाई बोक्सीको आरोप लगाउन छाडेका छैनन् । ‘अझै पनि मलाई बोक्सीको आरोप लगाउने गरिएको छ, गाउँ टोलमा कोही बिरामी परे पनि मलाई नै दोष लगाउने गरिन्छ, न्याय माग्न म कहाँ जाने ?’ जगमती सुनाउनुहुन्छ ।

रुपन्देहीको दक्षिणी क्षेत्रमा प्रायः महिलाहरुलाई बोक्सीको आरोपमा कुटपिट गर्ने, दुर्व्यवहार गर्ने प्रवृत्ति अहिले पनि ब्याप्त छ । गाउँपालिकामा उजुरी गर्न जाँदा पनि कारबाही नभएका धेरै घटना छन् । दक्षिणी क्षेत्रमा पर्ने रूपन्देहीकै कोटहीमाई गाउँपालिकामा यस वर्ष बोक्सी आरोपमा दुर्व्यवहार भएका तीनवटा उजुरी आए । तर, गाउँपालिकाले ती उजुरीलाई गाली बेइज्जती शीर्षकमा दर्ता गरी मेलमिलाप गरेर पठाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष भानुमती बानियाँले बोक्सीको आरोपमा उजुरी लिएर आउने क्रम दिनहुँ भइरहने भन्दै आफूहरूले सम्झाएर पठाउने गरेको बताउनुभयो । स्थानीय तहलाई बोक्सी कसुरमा मुद्दा हेर्ने अधिकार कानुनले दिएको छैन । तर, स्थानीय तहले यसका लागि प्रहरीकहाँ जान सहजीकरण गर्नुपर्नेमा उल्टै मेलमिलाप गरेर पठाउने गरेका छन् । जसले गर्दा यो क्रम हटेको छैन ।

बोक्सीको आरोप लगाउनु वा त्यस आरोपमा यातना दिनु फौजदारी कसूर मानिन्छ । बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ अनुसार पीडितले सुरूमा प्रहरी कार्यालयमा उजुरी गर्न सक्छन् । बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ मा बोक्सी आरोपमा कसूर गर्ने व्यक्तिलाई कसूरको मात्रा हेरेर आठ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सार्वजनिक पदमा रहेको व्यक्तिले कसूर गरेमा पच्चीस प्रतिशतभन्दा बढी सजाय हुने व्यवस्था समेत ऐनमा छ ।