जनता टाइम्स

२५ फाल्गुन २०७८, बुधबार ११:३७

ललितपुरमा प्रर्दशनी स्थल निमार्ण गर्न महिला उद्यमीहरूको माग


ललितपुर, २५ फागुन । महिला उद्यमीहरूले ललितपुरमा आफूहरूले उत्पादन गरेको सामान बिक्री वितरणका लागि प्रर्दशनी स्थल निर्माण गर्न माग गरेका छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महिला उद्यमी महासंघकी वासन्ती प्रधानले आफूहरूले उत्पादन गरेको नेपाली सामान बिक्री तथा प्रर्दशनका लागि स्थायी प्रकृतिको प्रर्दशनी स्थल नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पाटन बसन्तपुरमा पर्यटकहरूलाई विभिन्न सरसामान बिक्री गरिन्छ । तर, त्यो सामान नेपाली हो होइन हामी एकिनका साथ भन्न सक्दैनौं । त्यसैले नेपाली सामान बिक्री प्रर्दशनका लागि स्थायी प्रर्दशनी स्थल निर्माण गर्न हामी माग गछौं ।’ कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आफूले ललितपुरमा बनेका सामान प्रर्दशनीका लागि प्रर्दशनी स्थल बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ललितपर महानगर परिसरमै यो प्रर्दशनी स्थल बनाउन सकिन्छ ।’

यद्यपि, मेयर महर्जनले लामो समयदेखि प्रर्दशनी स्थल निर्माण गर्ने भनिए पनि त्यो नभएको बताउनुभयो । उपमेयर गिता सत्यालले महानगरको कार्ययोजनामा प्रर्दशनी स्थल निर्माण गर्ने उल्लेख भए पनि काम भने नभएको स्वीकार गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले हस्तकला नगर पाटनमा प्रर्दशनी स्थल नहुनु दुखद्को रहेको उल्लेख गर्दै प्रर्दशनी स्थल नहुँदा बजार प्रवर्द्धनमा अप्ठ्यारो परेको बताउनुभयो ।

ललितपुरउद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले संघ सधै महिला उद्यमीहरूको साथमा रहेको बताउँदै ललितपुरमा लामो समयदेखि प्रर्दशनी स्थलको माग गरे पनि अहिलेसम्म माग पूरा नभएकोमा दुःख व्यक्त गर्नुभयो । सिभिल बैक एसएमई प्रमुख किरण खड्काले बैंकले महिला उद्यमीहरूलाई सहुलीयत कर्जा दिएको बताउँदै उत्पादनमुलक उद्यम गर्ने बैंकले सधैँ सघाउने बताउनुभयो ।