जनता टाइम्स

२ चैत्र २०७८, बुधबार १९:४७

रसुवागढी नाकाबाट आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने


रसुवा, २ चैत । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आजदेखि सामानको आयात बढेको छ । गएको बिहीबार दुई देशका सीमा अधिकारीबीच सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो । छलफलमा चिनीयाँ पक्षले चीनबाट नेपाल तर्फ हुने सामानको आयात बढाउने सहमति जनाएको थियो ।

नेपाल सामान बढाउने सहमति अनुसार आज १४ चिनिया गाडीमा नेपाल सामान भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले बताउनुभयो । यसअघि चिनिया पक्षले दैनिक बिहान ७ र बेलुका २ गरी चिनिया ९ वटा गाडीमा नेपाल सामान आयात गरिरहेको थियो । बुधबारदेखि ५ चिनिया गाडी सामान थपेको हो ।

अब बिहान र बेलुका दुई सिफ्टमा सात सात गरी १४ वटा चिनिया गाडीमा नेपाल सामान आयात हुने मैनालीले बताउनुभयो । दैनिक १४ गाडी मार्फत नेपाल सामान आयातलाई निरन्तरता दिने चिनिया पक्षले बताएको उहाँले बताउनुभयो । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।

चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नाका सञ्चालन गरेको छैन । चीनबाट रसुवागढी नाका हुँदै नेपाल सामान सहज रूपमा आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन् ।