सप्तरी, ३ चैत । होली पर्व सुरू हुनु साता दश दिनअघि नै मधेशका गाउँहरूमा जोगिराको धुन गुन्जिन थालेको छ । पहिला पहिला जस्तो जोगिरा सरर… धुन नगुन्जिए पनि परम्परा र संस्कृतिलाई निरन्तरता दिनकै लागि मात्रै भए पनि बजाउने गरेको राजविराज–१ को ५० वर्षीया भगवती साहले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पहिला पहिले श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्मै फागु गीत गाइने गरे पनि अहिले होलीको केही दिनअघि देखि मात्रै गुन्जने गरेको छ ।’ उहाँका अनुसार अघिल्लो पुस्तासम्म होलीको एक महिनाअघि नै गाउँगाउँमा ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्यो । अहिले निकै कमी आएको भगवतीको अनुभव छ।
जोगीरा सररर…, कौन ताल पर ढोलक बाजे कौन ताल मृदंङ, कौन तालपर गोरिया नाचे कौन तालपर हम… भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब सुन्नै मुस्किल भएको राजविराज नगरपालिका–१३ बिषहरियाका ७५ वर्षीया भैरव चौधरीले बताउनुभयो । उहाँले थप्नुभयो,‘पहिलेपहिले त गाउँको कुनै निश्चित ठाउँमा मानिसहरू भेला भई अबेर रातिसम्म जोगिरा गाइन्थ्यो ।’
गाउँका केटाकेटी, महिला वृद्धवृद्धा र जोगिरा गाउने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे । गाउँ नै आनन्दित हुने गर्थ्यो । तर, अहिले त्यस्तो रौनक नभएको चौधरीको भनाइ छ । समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै सहर र विदेसिएपछि जोगिरा सररर… मा कमि आएको चौधरीको कथन छ।
होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसँगै ज्येष्ठ नागरिकले पनि रमाइलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका–१ का ७० वर्षीया सुला रजकले बताउनुभयो । होलीको अवसरमा गाइने जोगिरा मधेशको पहिचान र गौरव हो । यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्नेमा रजकको जोड छ । उहाँले थप्नुभयो,‘यसको संरक्षणमा युवा वर्ग अगाडि आउन जरुरी छ ।’













प्रतिक्रिया दिनुहोस्