काठमाडौं, ६ चैत । क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा चलचित्र नायिका प्रियङ्का कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोधपुछ गरेको छ । आज ब्युरोले बोलाएपछि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा जानुभएको कार्कीले प्रहरीसँग आफूले क्रिप्टोकरेन्सीको प्रचार नगरेको दाबी गर्नुभएको हो ।
प्रहरीका अनुसार केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा उहाँले डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ बारे यस्तो पोष्ट गर्नुभएको थियो,‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ ब्युरोका अनुसन्धान अधिकृतहरूसँग उहाँले सो पोष्ट आफ्नो नभएको दाबी गर्नुभएको हो ।
उहाँले भन्नुभएको, ‘यसमा म पनि अनभिज्ञ छु, मेरो संलग्नता छैन ।’सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्तिबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) श्याम कुमार महतोले बताउनुभयो । नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी गैह्रकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।
अवैध डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्यूरोले उहाँलाई आज बयानका लागी बोलाएको थियो । आफ्नो फोटो दुरुपयोग गर्नेबारे अनुसन्धान गर्न प्रियङ्काले आग्रह गर्नुभए पनि थप अनुसन्धानका लागि लिखित निवेदन भने दिनुभएको छ्रैन ।













प्रतिक्रिया दिनुहोस्