जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार १८:०१

छोराको आसमा आठ छोरी


मुगु, १६ चैत । छाँयानाथ रारा नगरपालिका–१२ का रन्न ऐडी ४६ वर्षको हुनुभयो । उहाँ श्रीमती भन्दा ठ्याक्कै तीन वर्ष कान्छा हुनुहुन्छ । उहाँहरूको विवाह भएको दुई दशकभन्दा बढी भयो । यो बीचमा उहाँहरूले आठ सन्तान जन्माउनुभयो । उहाँहरूले रेडियो, टिभीमा बज्ने ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने विज्ञापन नसुन्नुभएको पनि होइन । थोरै सन्तान भए जीवन सहज हुन्छ भन्ने थाहा नभएको पनि होइन ।

तर, छिमेकी र समाजले ‘छोरा नभएको’ भनेको सुन्नबाट बच्न आठ छोरी पाइसक्नुभएको छ । उहाँहरू अझै पनि छोरा पाउने आशमा हुनुहुन्छ । सानै उमेरमा विवाह गरेका रन्न अर्को वर्ष बाबु बनिहाल्नुभयो । त्यसयता हरेक डेढ दुई वर्षमा उहाँ बाबु बनिरहनुभएको छ । रन्नको श्रीमती पनि छोराकै आसमा हुनुहुन्छ । छोरा भए बुढेसकालमा सुख पाइने, अर्को जन्म पनि सफल हुने अन्धविश्वास ग्रामिण क्षेत्रमा अझै छ । यही अन्धविश्वाको शिकार बनिरहेका छन रन्न दम्पती ।

वर्षेनि जस्तो परिवारमा खाने मुख र पेट बढ्ने तर आम्दानीको स्रोत जस्ताको तस्तै हुँदा उहाँहरू संकटमा पर्नुभएको छ । पोषणयुक्त खानपान नहुँदा आमा र छोरीहरू कमजोर छन् । अहिले उनीहरूको साथमा सात छोरी छन् । एउटी छोरी जन्मने बित्तिकै बेतेको उहाँले बताउनुभयो । उहाँहरूको जेठी छोरी २० बर्षकी भइन भने कान्छी तीन बर्षकी छिन् । जेठी छोरीको विहेवारी भइ दुई सन्तानसम्म पाइसकेकी छिन । उनले दुई छोरी पाइसकेकी छिन् । उनी पनि अहिले माइतीमै छिन् ।

यी दम्पतिले छोराको आसमा के मात्रै गरेनन ? धार्मिक परम्पराअनुसार देवी, देवता, पूजा, पाठ, ज्योतिषसँग मन्त्र जपाय । छोराकै आसमा दम्पतिले अहिलेसम्म परिवार नियोजनको अस्थायी तथा स्थायी साधन अहिलेसम्म प्रयोग नगरेको रन्न बताउनुभयो । उहाँले छोरीहरूलाई शिक्षाबाट भने बञ्चित पार्नुभएको छैन । घर नजिकैको विद्यालयमा छोरीहरूलाई पढ्न भने पठाउने गर्नुभएको छ । उहाँको घर चलाउने मुख्य पेशा भेडा ब्यवसाय हो । त्यहि भेँडा पालनबाट घर खर्च र परिवारको लालनपालनमा भइसकेको सुनाउनुभयो ।