काठमाडौं, चैत १८ गते । ‘छोरी मान्छे भएर छोरा जसरी किन हिँडेको ?’, त्यसले छोटो–छोटो स्कर्ट लगाउँछे, अनि लाग्दैन त केटाहरूको आँखा’ लगायतका प्रश्न समाजमा चलिरहने बहस हो, सायद हरेक घरमा छोरी मान्छेले पालना गर्नुपर्ने विविध नियम घर परिवारका सदस्य वा नातागोता छिमेकीले तय गर्छन् र सिकाइरहेका हुन्छन् ।
तर अहिलेका पुस्ताले सबै क्षेत्रमा बराबरी हिस्सेदारी र जिम्मेवारी निर्वाह गर्ने कोसिससँगै आफुले लगाउने कपडा, पढ्ने विषय, पेशा व्यवसाय, रोजगारी गर्नेबारे समेत आफैंले निर्णय गर्न सक्षम छौं, भन्न थालेका छन् । यसका लागि ‘सि डिसाइड्स नेपाल र बियोन्ड बेइजिङ कमिटीले विगत पाँच वर्षदेखि युवामाझ ‘सि डिसाइड्स हर फ्युचर’ (उनी आफैंले आफ्नो भविष्य तय गर्छिन्) कार्यक्रममार्फत महिलाको निर्णय लिने क्षमतामाथि सधैं पश्न चिन्ह सह्य छैन है भन्ने सन्देश दिइरहेको छ ।
लैंगिक समानता र सामाजिक समावेशीता विशेषज्ञ शान्ता लक्ष्मी श्रेष्ठका अनुसार आफ्नो शरीरमाथि आफ्नै अधिकार स्थापित गराउनको लागि सि डिसाइड्स अभियान यत्तिबेला विश्वभर चलिरहेको छ । उहाँले अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगनले महिलाको सुरक्षित गर्भपतन गराउने अधिकारमाथि बन्देज लगाउन त्यसका लागि दिने सहयोग रोक्न ‘ग्लोबल ग्याग रुल’ (जसलाई मेक्सिको सिटी नीति पनि भनिन्छ) लागू गराउँन खोज्दा विश्वका महिलाले विरोध गरेर रोक लगाएदेखि सि डिसाइड अभियान चलेको बताउनुभयो ।
त्यत्तिबेला रोकिएको ग्याग रूल २३ जनवरी २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि ब्युताएर सुरक्षित गर्भपतनलगायत प्रजनन स्वास्थ्य सुरक्षाका लागि विश्वका विभिन्न मुलुकका लागि प्रदान गर्दै आएको सहयोग रोके । त्यसपछि महिला अधिकारमाथि नै धावा बोलेको भन्दै विश्वका विभिन्न देशका मन्त्रीलगायत प्रतिनिधीहरूले बेल्जियममा सम्मेलनको आयोजना गरेर त्यसको विरोध गरेको श्रेष्ठले बताउनुभयो ।

त्यस सम्मेलनले महिलाको शरीरमाथि उसैको अधिकार हुन्छ भनेर एउटा कोष खडा गरी सुुरक्षित गर्भपतनको सेवा सुचारू गर्न विश्वभर दिने सहयोगलाई निरन्तरता दिएको थियो । नेदरल्याण्डको मन्त्रि लिलियनले ‘ह्यासट्याग सि डिसाइड्स’ मुभमेन्ट चलाउनुभयो । २ मे २०१७ मै सि डिसाइड्स सर्पोट युनिट तयार भयो । २ मार्च २०१८ देखि सि डिसाइड्स डे दक्षिण अफ्रिका र भारतका केही ठाउँमा मनाउन थालियो ।
नेपालमा बियोन्ड बेइजिङ कमिटीले २००२ देखि नै लैङ्गिक समानता र सुरक्षित गर्भपतनको अधिकारका लागि काम गर्दै आएको छ । सोही कमिटिले नेपालमा १ मार्च २०१९ देखि सि डिसाइड्स फ्ल्यागसिप अभियान ल्याएका थिए । वियोण्ड बेइजिङ कमिटिका अध्यक्ष सुशिला श्रेष्ठले महिला तथा किशोरी, लैङ्गिक अल्पसङ्ख्यक, सिमान्तकृत वर्गका लागि यस अभियान समुदायस्तरसम्म पुगेर बुझाउने कोसिस गर्दै आएको बताउनुभयो ।
उहाँले यस अभियान नेपालमा चलेको पाँचौ वर्षको अवधिमा समाजमा लुकेर, आफ्नो इच्छा मारेर बाँचेका लैङ्गिक अल्पसङ्ख्यकले म यस्तो चाहन्छु, मेरा चाहना रहर होइन, अन्यको जस्तै स्वभाविक आनीबानी हुन् भनेर बोल्न थालेको बताउनुभयो । साथै यस वर्ष कौशी थिएटरसँग आवद्ध महिला कलाकारहरूले छोटो लुगा लगाएको आधारमा महिलालाई यौन हिंसा गर्ने, उमाथि लैङ्गिक विभेद गर्ने अधिकार अरूलाई हुन्न, भन्ने आवाज उठाएका छन् ।
सो कमिटिले महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्यका लागि काम गर्ने क्रममा सि डिसाइड अभियानका लागि विशेष गरी युवालाई आफ्नो बुलन्द पार्न जागरूक बनाउँछ । अभियानको उद्देश्य सहि कुराका लागि बोल्न पछि पर्न हुन्न, महिलाले मात्र चुप लाग्ने, घर, परिवार, समाजको परम्परा धान्ने बहानामा आफुमाथि हुने हिंसाको विरोधका लागि अब तयार होउः भन्ने सन्देश दिएको छ ।












प्रतिक्रिया दिनुहोस्