जनता टाइम्स

२४ असार २०७६, मंगलवार १६:३०

इक्यानको १३ औं शैक्षिक मेलाको तयारी पुरा, असार २६ बाट शुरु हुने मेलामा ४ सय स्टल रहने


काठमाडौँ — नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले बृहत् शैक्षिक मेलाको तयारी पुरा भएको छ । अन्तराष्ट्रिय शिक्षासम्बन्धी जानकारी र परामर्श दिने उद्देश्यले ‘तेह्रौं इक्यान बृहत् शैक्षिक मेला २०७६’को सम्पूर्ण तयारी भएको हो ।

भृकुटीमण्डपमा हुने मेला असार २६ बाट चार दिन चल्ने मेलाका संयोजक दिपक भुसालले जानकारी दिनुभयो ।
कार्यक्रम व्यवस्थापक वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सलट्यान्ट प्रालिले मेलामा आउने विद्यार्थीको लागि उपत्यकाका विभिन्न ठाउँबाट फ्रि बस सेवा सञ्चालन हुने जानकारी दिएको छ । कार्यक्रममा फ्रि वाई फाईको पनि व्यवस्था गर्दै डिजिटल मेला गर्न खोजिएको बताएको छ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्रा्ष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिनुभयो ।

करिब ४ सय स्टलरहने शैक्षिक मेलामा एक लाख भन्दा बढी विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको इक्यानले जनाएको छ ।

१३ औँ संस्करणको मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहने छ ।