जनता टाइम्स

२४ असार २०७६, मंगलवार १६:५२

मिडिया काउन्सिल बिद्येयकमा जुट्यो सहमति : पत्रकार महासंघको आन्दोलन फिर्ता


काठमाडौं, असार २४

नेपाल पत्रकार महासंघले आन्दोलन फिर्ता लिएको छ । सरकारले राष्ट्रियसभामा प्रस्तुत गरेको मिडिया काउन्सिल बिद्येयकको बिरुद्धमा आन्दोलनमा रहेको महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको प्रतिवद्धतापछि आन्दोलन फिर्ता लिएको हो ।

नेपाल पत्रकार महासंघ सडक आन्दोलनमै उत्रिएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले महासंघलाई बार्तामा बोलाउनु भएको थियो । नेम्वाङको पहलकदमीपछि भएको तीन चरणको बार्तापछि आज सहमति जुटेको हो ।
आजको बैठकमा नेता नेम्वङले महासंघले उठाएको मागप्रति नेकपा सहमत रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको थियो । नेकपाको तर्फबाट राष्ट्रिय सभाका प्रमुख सचेतक खीमलाल भट्टराईले महासंघले उठाएको मागप्रति आफूहरु सकारात्मक रहेको लिखित पत्र दिई आन्दोलन फिर्ता लिन प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावपछि आन्दालेन फिर्ता भएको हो ।

‘महासंघको मुद्दामा सहमति जुट्यो, आन्दोलनको कायक्रम फिर्ता लिइएको छ,’ आजको बर्ताापछि महासंघका अध्यक्ष गोबिन्द आचार्यले जनताटाइम्स डटकमसँग भन्नुभयो । बार्ता टोलीमा सहभागी उपाध्यक्ष बिपुल पोखरेल, महासचिव रमेश बिष्ट, सचिव उदय जिएम, सदस्य जानुका बराल र यम बिरहीले पनि सहमतिपछि महासंघको आन्दोलन फिर्ता भएको जानकारी दिनुभयो ।

आजको बर्तामा संसदीय दलका उपनेता नेम्वाङसहित नेकपाका महासचिव बिष्णु पौडेल, कानून मन्त्री भानुभक्त ढकाल, नेकपाका नेता योगेश भट्टराई, प्रमुख सचेतक राष्ट्रिय सभामा खीमलाल भट्टराई कृष्णगोपाल श्रेष्ठ, नवराज सिलवाललगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।