जनता टाइम्स

२४ चैत्र २०७८, बिहीबार १०:५५

प्रगतिशील प्राध्यापक संगठनको अपरिहार्य पहिचान : चुनावमा प्रचण्ड-माधव समुहको अवशान


अहिले पनि ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाएर देश र जनताको छातीमा दाल दल्ने र नेपाली कम्युनिस्ट आन्न्दोलनलाई धराशायी बनाउने कृत्य दाहाल र नेपालले गरेको कुचेष्टा अहिले त जनसाधारणले नै बोध गर्ने गरी छर्लङ्ग भयो । कतिपय कुरा परिपक्व हुन समय लाग्छ । भारत र बाह्य शक्ति अनुकूल नेपाललाई परिचलित गर्न दाहाल-नेपाल कम्मर कसेर लागेको त सबका सामु स्पष्ट भयो नि ।

प्राडा. बद्रीविशाल पोखरेल

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको १२ औँ केन्द्रीय सम्मेलन यही चैत्र २५ र २६ गते काठमाडौँमा हुन गइरहेको छ । यो पेशागत संगठन भए पनि राष्ट्रिय समस्याबाट यो अछुत रहन सक्तैन । यस संगठनले के कस्ता पेशागत तथा देश र जनताका हक हितमा गुणात्मक बौद्धिक गतिविधि गरेको छ । अहिले फरक विचारको प्राज्ञिक नेतृत्व विश्वविद्यालयमा आएको भन्ने अति निम्नस्तरको चिन्तनका कारण नेका पार्टीका केही नेता र सरकार नै विश्वविद्यालय लामो समयदेखि नेविसंघका नामबाट तालाबन्दी गरेर तहसनहस पारिएको छ । अति भएपछि यसको पोल त्रिविका रजिष्ट्रर प्रा.डा. पेशल दाहालले माननीय गगन थापाकै अगाडि खोल्न बाध्य हुनुपर्यो । तर भलादमी प्राध्यापकहरुले यस्ता विकृति उच्छेद गर्ने काममा कलम चलाएको देखिएन । सत्य सजिलै स्थापित हुँदैन । टन्टलापुर घाम नलागी अन्धकार मासिन्न । यसको समीक्षा हुने नै छ ।

सदा पद, प्रतिष्ठा र कुनै न कुनै नियुक्तिका पछि हत्ते हाल्ने निम्न पँुजिवादी चिन्तन र चरित्र बोकेको भनेर आलोचित यस क्षेत्रले आफ्नो माक्र्सवादी जनसेवामुखी छवी कायम गर्ने कुरा महत्वपूर्ण हुन्छ । प्राध्यापक, शिक्षक तथा बौद्धिकहरु देशका दिमाग मात्रै होइनन, दिल पनि हुन । बौद्धिक चिन्तन, मनन, लेखन, शिक्षण र प्राध्यापन जस्ता देशलाई नै दिशा निर्देश कामहरुले दिमागी कुरा बुझाउँछ भने दिलले भावनात्मक, हार्दिक तथा मनोवैज्ञानिक पक्षलाई जनाउँछ । तर पुरानै खालको सोच राखेर हुँदैन । माओले भनेझैँ परिवर्तित परिस्थितिमा पनि नेता तथा बुद्धिजीवीमा समेत पुरानै शाषक र शाषन व्यवस्थाको विचार, चिन्तन र संस्कृति हावी हुन्छ । यसमा विशेष सचेत हुन सकिएन भने पछौटे संस्कृति हाबी हुने खतरा हुन्छ । तुलनात्मक रुपमा प्रगतिशील क्षेत्रका प्राध्यापकहरुको आफ्नो उचाइ रहेको देखिन्छ ।

अयोग्यमध्ये योग्य हुने भन्दा गुणात्मक उचाइ बनाउनु पर्छ । अझ प्रगतिशीलताका नाममा परिचालित माक्र्सवादी सैद्धान्तिक विचलन त्यसैले नाम मात्रको होइन, कामकै प्रगतिशीलता अपरिहार्य हुन्छ । यस क्षेत्रमा समाजवादी प्रतिस्पर्धा भन्दा पुँजिवादी प्रतिस्पर्धाकै नखरा बढी देखिन्छ । यसैकारण यस क्षेत्रमा आन्तरिक अन्तविरोधहरु व्याप्त रहेका छन । धेरैजसोले विषय, विज्ञता, विधा, क्षेत्र, नाक,नश्ल र भूगोल आदि आधारमा आफूलाई कि उच्चता बोध वा नीचता बोध गर्ने प्रवृत्ति छ । केही दिन अघि बुद्धिजीवी परिषद्को सम्मेलन उद्घाटन समारोहमा काठमाडौँ बाहिरबाट आएको ठानेर होला यस लेखकलाई आफू बसिरहेको कुर्सी फलानालाई छाडिदिन एक प्राध्यापकले भने । काठमाडौँ कोक्यायो भन्ने एक कवितामा यस लेखकले काठमाडौँका मैहूँ भन्नेहरुलाई व्यङ्ग्य गरेको थियो । उक्त कवितामा पहिलो भेटमै काठमाडौँले मलाई देखेर आँखा सन्कायो, आँखी भौँ खुम्च्यायो, तोलाको बोली भुइँमा खस्ला खस्लाझैँ गर्यो भनेर लेखेको थियो ।

यसबाट प्रगतिशील प्राध्यापक संगठनभित्र रहेको एउटा अन्तविरोधको एउटा सानो उदाहरण हो । यहाँ त एक अमुक नेतालाई खुसी पारेर अरु सबैलाई हेपाहा व्यवहार गर्ने परिपाटी मलजल हुने गरेको थियो । त्यसको तुस अहिले पनि बाँकी रहेको देखिन्छ । औपचारिक अध्ययन गर्नु, पदोन्नतिका लागि विभिन्न प्राज्ञिक पद, प्रतिष्ठा र ओहदा प्राप्त गरेकै भरमा ठूलो भइएला तर यत्तिकै भरको ठूलो मानिसलाई असल त भनिन्न, ठालु चाहिँ भनिन्छ । तसर्थ विश्वविद्यालयीय औपचारिक ज्ञानसहित ऐतिहासिक भौतिकवादी, माक्र्सवादी र जबजका प्रकाश र आलोकमा जीवन जगतसहित ज्ञानका समग्र विषयलाई हेर्ने विश्लेषण गर्ने र निचोड निकाल्ने चाहिँ प्रगतिशील पहिचान हो । यति भयो भने मात्र जबजअनुसार समानान्तर वा प्र्रतिध्रुवीय बौद्धिक क्षेत्रभन्दा फरक पहिचान प्राप्त गर्न सकिन्छ । कामको प्रगतिशीलता अपरिहार्य हुन्छ । यसरी मात्र यस संगठनको गुणात्मक औचित्य अब स्थापित गर्न सकिन्छ ।

२०७८ असोज २४ गते प्रगतिशील प्राध्यापक संगठनले चाडपर्व र परम्पराको वैज्ञानिक पक्ष शीर्षकमा जुममार्फत पहिले कहिल्यै नभएको सान्दर्भिक तथा गहन विचार गोष्ठी सम्पन्न गरेको थियो र यस लेखकलाई पनि सहभागी हुने अवसर प्राप्त भएको थियो । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी मान्यताका आधार अध्ययन, मनन र विश्लेषण गर्दा मात्र जुनसुकै विषय सन्दर्भको सही अध्ययन हुन सक्छ । कम्तीमा प्रगतिशील प्राध्यापक संगठनले यस विषयमा औपचारिक बहस सुरु गरेकोमा धन्यवाद भन्नुपर्छ । चाडपर्वलगायत संस्कृतिका निर्माता जनता हुन र जनताले दैनिक जीवन सञ्चालन गर्न उपार्जन, उत्पादन जस्ता श्रम संघर्ष गर्दा सिर्जना भौतिक वा अभौतिक वा आत्मिक संस्कृतिको निर्माण गरेको हो ।

अझ तिहार त युगान्तकारी पर्व हो । एउटै आमाका सन्तानका बीच विवाह गर्ने परिपार्टीलाई अन्त गरेर दिदी बहिनी र दाजुभाइका बीच आत्मीय आदर पूर्ण सम्बन्ध आरम्भ गरिएको महान् पर्व हो । तिहार मात्रै होइन, सामाचखेवा, राखी, जितिया आदि पर्वले चेली र माइती बीचको आत्मीय र आदरपूर्ण सम्बन्ध स्थापित गरेका छन् । त्यसैले यस्ता विषयमा परम्परागत विश्वविद्यालयीय औपचारिक ज्ञान मात्र पर्याप्त हुँदैन । यसैमा मात्र भर पर्ने हो र माक्र्सवादी कोणबाट अब पनि समग्र ज्ञानको विवेचन र विश्लेषण नगर्ने हो भने संस्कृतिका नाममा सतही कुराको मात्र मात्र संस्कृतिविद्हरु निर्भर हुने खतरा अझै देखिँदैछ । दर्शनका निर्माता विद्वान् तथा बुद्धिजीवी नै हुन् ।

त्यही दर्शन र वादका आधारमा राजनीतिक सिद्धान्त तय भएका वा गरिएका हुन् । यसैका आधारमा विभिन्न पहिचानका राजनीतिक पार्टी बन्न पुगेका हुन् त्यसैले बुद्धिजीवीले राजनीति निरपेक्ष बस्छु भन्न सकिन्न र हुँदैन र होइन पनि । किनभने कहीँ न कहीँ राजनीतिमा एउटा प्राध्यापक राजनीतिमा परोक्ष रुपमा सहभागी भएकै हुन्छ । राजनीतिमा आआफ्ना हिसावले लागे पनि कार्यकर्ताको मात्र पहिचानले प्राज्ञिक पहिचान अग्लिँदैन । यस्तो व्यक्तित्वले समाजमा खासै प्रभाव पनि पार्दैन । जबज भनेर वा नभनेर आम जनमानसलाई जबजका वैचारिक पक्षहरु उल्लेख गरेर त्यस अनुसार व्यावहारिक रुपमा प्रभावित गर्ने सामथ्र्य अपरिहार्य हुन्छ । हजार सिद्धान्त भन्दा एउटा व्यवहार काफी हुन्छ । आआफ्ना विषयगत विज्ञता र प्राध्यापकीय कौशल मार्फत् आम विद्यार्थी जगत्मा आफ्नो लगनशील, इमान्दार तथा गहन प्रभाव पार्न सके मात्र एउटा प्राध्यापकले समाजमा प्रभाव पार्छ ।

एउटा माक्र्सवादी प्राध्यापकसित नीतिको जेठो राजनीतिलाई गहिरो रुपमा पर्गेल्ने क्षमता अपरिहार्य हुन्छ । यसका अभावमा बुद्धिजीवी नै पनि कुहिराको काग हुन बेरछैन । सही माक्र्सवादी र जबज अनुसार १०,२० वर्ष पछिको स्थिति आँकलन गर्न नसक्ने बुद्धिजीवी माक्र्सवादी हुन गाह्रो हुन्छ । पिँध बिनाको लोहोटाको कुनै भर हुँदैन । पुष्पलालको संयुक्त जनआन्दोलनको सही नीति २९ वर्षपछि मात्र बुझ्ने हामी नै हौँ । जन नेता मदन भण्डारी प्रतिपादित जबज अझै राम्ररी नबुझ्नै हामी अझै हौला । प्राध्यापकहरुले जुन कुनै तरिकाले बेलाको बोली बोल्नै पर्छ । १०३ वर्ष बोलेर,२९ वर्ष बोलेर र पाँच वर्ष बोलेर राणाशाही, पंचायती र जनयुद्ध नामको अपार जनधन गर्ने हत्या हिंसा परित्याग गरेर लोकतान्त्रिक धारमा आएर पनि उग्रता कायमै रहेको माओवादीलाई तह लगाएकै हो । त्यसैले बेलाको बोलीको तत्काल नभए पनि समयमा गहिरो प्रभाव पर्छ ।

कतिपय उग्रवादी तप्का भण्डारीकै कारण कम्युनिस्ट पार्टीको झण्डा फहराउन पाएका हुन् भन्ने इतिहासको कटुयथार्थ सम्झिन चाहँदैनन् । अवसरवादी कम्युनिष्ट चाहिँ जबजको कहिले च्याप्टर क्लोज गर्न चाहन्छन् कहिले स्वार्थ अनुकूल जबजकै जाप गर्छन् । माओले भनेझैँ जनता,पार्टी र सिद्धान्तप्रति विश्वास छैन भने त्यस्तो प्राध्यापकले कसरी आफू सहित समाजलाई परिवर्तित गर्न सक्छ । जयसिंह धामी प्रकरण,महाकालीमा भारतले भलबाढी नेपालतिर फर्काउन एक तर्फी पक्की बाँध बनाएको र २४ लाख कोरोना खोप हरायो भन्ने नालायक सरकार र त्यसका भरथेग बनेका दाहाल नेपाललाई प्राध्यापकहरुले नसच्चिए सक्किने गरी कटाक्ष गर्नु पर्छ । अझ प्रधानमन्त्री देउपाले भारत भ्रमणमा रहँदा नेपालको चुच्चे नक्सा बुच्चे पारेर आए । यस्तो राष्ट्रघाती कामको विरोध गर्नै पर्छ ।

बेलाको बोली र मौकाको काम मात्र कमयावी हुन्छ । बौद्धिक भेलामा ओलीले भन्नु भए झैँ पउरोटीमा जाम दलेझैँ गरेर नास्ता गर्ने प्राध्यापक र बुद्धिजीवीहरु मीठो मसिनो कसैलाई नबिझाउने खालको मात्र कुरा गर्ने होइन भन्नु भएझैँ आवश्यकता अनुसार आक्रामक रुपमा विषय उठान गर्नु पर्छ । हो पनि कहिले काहिँ रिस पनि सौन्दर्य हुन्छ र बन्छ । भारतले गरेको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने र नाकाबन्दीका विरुद्ध चट्टानी अडान राख्ने दुवै उस्तै उस्तै भन्न मिल्छ ? देश,जनता र जनजीविकाका सबालमा काम गर्ने र नगर्ने सबै उस्तै कसरी हुन्छ ? संसद् विघटन गराउन मरिमेटेर लाग्ने सबै चोखा ? अनि त्यसैका पछिपछि आँखा चिम्लेर दगुर्ने सबै जाती ? आखिर भारत अनुकूल वा कन्फर्टेवल सरकार बनाउने कुनियतका कारण बाह्य इसारामा दाहाल नेपाल लागेको त स्पष्ट भयो होला नि । कि अझै प्रशिक्षण आवश्यक छ । संसद् विघटन गरेकामा ओलीलाई सत्तोसराप गर्नेहरु परमादेशी सरकारको तारिफ गर्छन् । यति समान्य कुरा पनि नदेख्ने बुद्धि कस्तो बुद्धि र नेता ? ओलीलाई कम्युनिस्ट एकता विरोधी देख्नेहरु दुई महिनापछि हुने र गर्ने भनिएको पार्टी महाधिवेशनसम्म किन पर्खिन सकेनन् र कम्युनिस्ट विरोधी मोर्चामा किन सामेल भए अब परिणामले नै बताए पछि पनि किन बुझ पचाउँछन् ?

अहिले एमाले र अझ ओली नेतृत्व देशी विदेशी प्रतिक्रियावादीको तारो बनेको छ । यसरी संसारले नै खेदो पाइलो गरेका बेला भए नभएका अत्तो थापी थापी घर झगडा बल्झाउन सुहाउँछ ? ओलीले भन्नु भएझैँ अहिले एमालेमा जुन लहर आएको छ,त्यो लहर देश र जनता तथा जनजीविकाका हितका पक्षमा आएको हो । यसले दाहाल नेपाल जस्ता नितान्त निजी निहित स्वार्थलाई केन्द्रमा पटक्क नराखी देशको स्वाधीनता,अखण्डता,स्वतन्त्र अस्तित्व शान्ति तथा समृद्धिका खातिर जनलहर उर्लेको हो । कुनै पनि प्राध्यापकले देशका लागि आग्रह रहित सोच्ने हो भने जसकसैले गरेका राम्रा कामहरुलाई राम्रो भन्नसक्नुपर्छ । व्यक्तिगत रुपमा आफ्रूलाई कुलपति उपकुलपति आदि केही लिनु दिनु छैन भनेर देशमा भइरहेका भद्रगोल बारे बेचैन बस्न एउटा प्रबुद्ध प्राध्यापकलाई किमार्थ सुहाउँदैन । कम्तीमा देशको महँगो नुन वा पेन्सन पट्टा खाएको नाताले भए पनि देशका बारेमा केही न केही चिन्ता र चासो हुनुपर्छ ।

अहिले पनि ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाएर देश र जनताको छातीमा दाल दल्ने र नेपाली कम्युनिस्ट आन्न्दोलनलाई धराशायी बनाउने कृत्य दाहाल र नेपालले गरेको कुचेष्टा अहिले त जनसाधारणले नै बोध गर्ने गरी छर्लङ्ग भयो । कतिपय कुरा परिपक्व हुन समय लाग्छ । भारत र बाह्य शक्ति अनुकूल नेपाललाई परिचलित गर्न दाहाल-नेपाल कम्मर कसेर लागेको त सबका सामु स्पष्ट भयो नि । सुरुमा क्षयरोगको असर अति सामान्य हुन्छ तर ओली जस्ता विज्ञले सामान्य लक्षणबाट थाहा पाउँछन् । पहिलो पटक देश र जनताको हितमा काम गरेको देखेर विदेशी प्रभुलाई खुसी पार्न छापामार शैलीबाट प्रधानमन्त्रीबाट आफूलाई हटाएको प्रत्यक्ष भए पनि ओली पूरै तयारी र हासियारी साथ सकेसम्म दाहाल नेपाललाई सच्याउने नत्र सकिदिने हिसावले लागेको उतिबेलै यही लेखकलाई लागेकै हो ।

एकाध धन्धुकारीका देश र जनताको बलि दिन सकिन्न । अहिले चुनावी माहौल छ । यो वर्ग संघर्षको एउटा मोर्चा हो । यसमा सफलता हासिल गर्नु आवश्यक छ । प्राध्यापकहरुले यस विषयमा आआफ्ना तरिकाले लागि पर्नु अपरिहार्य हुन्छ । किनभने एउटा प्राध्यापकका पछाडि आआफ्ना हैसियत अनुसार जनताको सचेत पङ्ति लामबद्ध हुन्छ । प्राध्यापकको सानो तिनो सरकार नकारको संकेत पनि असरदार हुन्छ । त्यसैले चिया पसल वा पिया पसलमा होस् निराशा बढाउने काम चाहिँ गर्नुहुन्न ।

(लेखक इटहरी ५ निवासी लेखक सेवा निवृत्त प्रगतिशील प्राध्यापक हुनुहुन्छ ।)