जनता टाइम्स

२८ चैत्र २०७८, सोमबार १२:४८

एमालेले बेलौरी मेयरका लागि कमला बोहरालगायत ८ जनाको गर्यो नाम सिफारिस


महेन्द्रनगर, २८ चैत । नेकपा (एमाले) ले बेलौरी नगरपालिकाको मेयरका लागि युवा नेतृ कमला बोहरालगायत ८ जनाको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्जसमेत रहेकी बोहरा, जिल्ला कमिटी सचिव पल्लवराज भट्ट, करमशाही राना र टेकबहादुर साउँदलाई मेयरमा प्रस्तावित गरिएको नगर कमिटीले जनाएको छ ।

राधाकृष्ण जोशी (ज्वाला), रामबहादुर स्वर्णकार, चित्रा चौधरी र हिरासिंह बिष्टको नाम पनि प्रस्तावित गरिएको छ । नगर कमिटी बैठकमा मेयर पदमा दाबी र आकांक्षा व्यक्त गर्ने सबैको नामावली जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको एक नेताले बताउनुभयो । एमाले सचिवसमेत रहेका पल्लवराज भट्ट यसअघि पनि मेयरमा चुनाव लड्नुभएको थियो । उहाँ नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरीसँग पराजित हुनुभएको थियो ।

उहाँले यसपाली पुनः परीक्षणको मौका दिनुपर्ने र आफ्नो मात्र एकल सिफारिस गर्न कमिटीलाई दबाब दिँदै आएको नगरका एक नेताले बताउनुभयो । उपमेयरमा ६ जनाको नाम सिफारिस भएको छ । जोगाराम चौधरी, शान्ति चौधरी, कोपिला चौधरी, कमला चौधरी, दुर्गा खरेल र सिटाली चौधरीको नाम जिल्ला कमिटीमा पठाइएको हो ।