काठमाडौं, २८ चैत । नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा नयाँ अफर ल्याएको छ । यति एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यति एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गरी ‘यति एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको हो ।
यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको कम्पनीले जनाएको छ । सानिमा जनरल इन्स्योरेन्सका डेपुटी महाप्रबन्धक रेना रिजालका अनुसार यो अफर १४ अप्रिल २०२२ देखि लागू हुनेछ। यो अफर यतिको मोबाइल एप र वेबसाइट मार्फत टिकट खरिद गर्ने यात्रुहरूका लागि उपलब्ध हुनेछ । यो समझदारी अन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिको लागि १ लाख सम्म बीमा रकम पाउनेछन् ।
३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुनेछ । यात्रुले बीमा अवधिमा दुर्घटना भएमा रु १०,००० सम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा शतप्रतिशत बीमा रकम पाउनेछन् । बीमा समितिको नीतिअनुसार बीमा दाबी गर्ने अधिकार सानिमा जनरल इन्स्योरेन्सको हुनेछ,’ रिजालले भन्नुभयो । उहाँका अनुसार यो अफर ३ महिनाको लागि मान्य छ र नेपाली नागरिकका लागि मात्र लागू हुनेछ ।













प्रतिक्रिया दिनुहोस्