जनता टाइम्स

४ बैशाख २०७९, आईतवार १०:१७

मर्नुअघि अमृताको त्यो दर्दनाक पीडा : सवैका मन भक्कानिने दाजुलाई पठाएको त्यो अन्तिम म्यासेज


बुटवल, वैशाख ४ । रुपन्देहीको तिलोत्तमा–२ की अमृता खत्री टण्डन मर्नुअघि दोहोरो चेपुवामा पर्नुभएको थियो । मर्नुअघि अमृताले आफ्ना दाजुलाई पठाएको म्यासेजमा उहाँ घर र माइतीको दोहोरो चेपुवामा परेको दखिएको छ ।

चैत ३० गते राति साढे ९ बजे अमृताले आफ्ना दाजु पुष्पक खत्रीको मोबाइलमा म्यासेज लेख्नुभएको थियो, ‘दाइ म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, म हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न सहयोग गर्नु ।’

बहिनीको म्यासेज मोबाइलमा हेरेपछि दाजु पुष्पकले केही हुन लागेको हो कि भन्ने अड्कल काटनुभयो । तर, उहाँले बहिनीलाई माइत बोलाउनु भएन । किनकि बहिनी अमृता माइतबाट सोही दिन घटना घट्नुभन्दा आधा घण्टा पहिले नै घर पुग्नुभएको थियो । अमृताको घर र माइतीबीचको दूरी करिब चार सय मिटर टाढा रहेको छ ।

तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित वरपिपल पथमा रहेको माइतीबाट अमृता करिब साढे आठ बजेतिर भेटेनरी लाइनस्थित आफ्नो घर जानुभएको थियो । अमृता माइतमा रहेको बेला श्रीमानले फोन गरे । पहिलो र दोस्रो फोन अमृताले उठाउनु भएन । तेस्रो पटक फोन आएपछि उहाँले फोन उठाउँदै मलाई टाउको दुःखेको छ, माइतै बस्छु भन्नुभयो । अमृताका दाजु पुष्पक भन्नुहुनछ ‘तर श्रीमानले अलि बढी नै प्रेसर गरेपछि बहिनी घर गएकी हो ।’

अमृताले आफ्नो घर पुगेपछि दाजु पुष्पकको मोबाइलमा राति ९ बजेर १४ मिनेटमा म्यासेज पठाउनु भएको थियो । ुमाइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा । चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने ? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न न दिने चेलीको फेर्ने सास गयो,ु अमृताले लेख्नुभएको छ ।

बहिनीले पठाएको म्यासेज हेरेपछि दाजु पुष्पकले बहिनीलाई सम्झाउनु भयो । उहाँले म्यासेजको जवाफ फर्काउनु भयो, “तँजस्तो मान्छे मर्ने कुरा गर्ने हो ? भोलि भान्जासँग आइजा कुरा गरौंला ।’ तर उक्त म्यासेजको जवाफ अमृताले पठाउनु भएन । त्यसपछि राति पौने १० बजेतिर अमृताका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गर्दै भन्नुभयो, ‘अमृताले विष सेवन गरेकाले अस्पताल ल्याएका छौं ।’ अमृताले पछिल्लो म्यासेज आफ्ना दाजु पुष्पकलाई राति ९ बजेर ३२ मिनेटमा पठाएको देखिएको छ । अस्पतालले ९ बजेर ५० मिनेटमा उनलाई मृत घोषणा गरेको थियो ।

अमृताको मृत्युपछि अहिले दिनहुँ प्रदर्शन भइरहेको छ । अमृताका माइती पक्ष र आफन्तले इलाका प्रहरी कार्यालय बुटवल घेराउ गरिरहेका छन् भने सडकमा पनि दिनहुँ प्रदर्शन गरिरहेका छन् । अमृताले विष सेवन गरेको नभई घरपरिवारले सुनियोजित रूपमा विषादी खुवाएर हत्या गरेको माइती पक्षको आरोप छ ।

नौ वर्षअघि प्रेम टण्डनसँग अमृताको प्रेम विवाह भएको थियो । त्यतिबेला अमृता प्लस टु पढ्दै हुनुहुन्थयो । केटा पक्षकै प्रस्तावमा अमृतालाई विवाह गरिदिएको दाजु पुष्पकले बताउनु भयो । प्रेमको परिवारबाट सुरूमा माग्न आए पनि अमृताको मावली टण्डन भएकोले सुरूमा उक्त सम्बन्धलाई माइती पक्षले स्वीकारेका थिएनन् । दाजु पुष्पकका अनुसार पछि प्रेमको परिवारले भगाएर विवाह गरे र अमृतालाई भारतमा लगेर गए ।

विवाहको एक वर्षसम्म माइती पक्षले ढोगभेटसमेत दिएनन । तर, पछि अमृताको छोरा जन्मेपछि माइती पक्षले बोलाए र ढोगभेट दिए । केही समय राम्रै चलेको सम्बन्धमा तीन चार वर्षयता भने कलह निम्तिन थालेको थियो ।

अमृताका श्रीमान प्रेम भारतमा जागिर गर्नुहुन्थ्यो । उहाँ घरका एक्ला छोरा थिए । तर भारतबाट फर्केपछि भने बेरोजगार भए । श्रीमानले बेरोजगार भएपछि अमृता पनि सासु ससुरामाथि नै निर्भर हुनुपर्यो । भागेर विवाह गरेकाले सामान्य समस्या माइतीमा लगेर सुनाउन पनि सक्नुभएन ।

बहिनी र ज्वाइँको सम्बन्ध राम्रो नभएको थाहा पाएका पुष्पकले बेलाबेला बहिनीको आर्थिक समस्यामा सहयोग गर्नुहुन्थ्यो । तर उहाँले बहिनीलाई घरप्रतिको जिम्मेवारीबाट नभाग्न भनेर सम्झाइरहन्थे । चैत ३० गते साँझ पनि उहाँले बहिनीलाई परिवारले जति नै दोष लगाउने गरे पनि आफू जिम्मेवारीबाट नचुक्न भन्दै सम्झाएका थिए ।

गत भदौमा परिवारले सामान्य विषयमा पनि कमजोरी देखाएर खोट लगाउने, खाना खाँदा विभेद गर्ने, मानसिक रूपमा सधैँ टर्चर दिइरहँदा घरमा बस्न नसक्ने भन्दै वडा नं २ को कार्यालयमा अमृताले निवेदन दिनुभयो । वडामा निवेदन दिएर माइत गएपछि खटपट झनै बढ्यो । भदौ १७ गते वडाध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरू, वडा सचिव, घर र माइती पक्षको बीचमा छलफल गरी अबका दिनमा घरपरिवारले सामान्य विषयमा खोट नदेखाउने र घरमा बस्ने वातावरण मिलाउने तथा अमृता पनि घरमै गएर बस्ने गरी दुबै पक्षले लिखित सहमति गरेका थिए ।

त्यसपछि अमृता घरमै गएर बसे पनि श्रीमान र सासुसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन । उक्त सहमतिपछि अमृताले परिवारले मानसिक रूपमा पीडा दिने गरे पनि माइतीलाई भन्नुभएको थियो । गत असोजमा पुष्पकको विवाह भयो । अमृता छोरालाई लिएर दाजुको विवाहमा माइती जानुभयो । जेठानको विवाह हुँदा प्रेम भने ससुराली गएनन् । पुष्पकले बहिनी र ज्वाइँको सम्बन्ध नसुधारिएको त्यतिबेला पनि पत्तो पाइसकेका थिए । घरभित्रको कुरा वडा कार्यालयमा समेत पुगेको कारण परिवारको बीचमा अझै पनि मतभेद रहेको हुन सक्ने भन्दै उहाँले त्यो विषयमा कुरा गर्न चाहेनन् ।

दुई दाजुकी एकमात्र बहिनी अमृता माइतीमा पनि सबैभन्दा नजिक पुष्पकसँग नै हुनुहुन्थ्यो । घरपरिवारसँगको सम्बन्ध जति सुधार्न खोजे पनि राम्रो बन्न नसकेपछि उहाँले दाजुलाई पनि भन्न छोडनुभयो । बरू दिनभरि घरमा बसेर झनै मानसिक तनाव झेल्नुभन्दा जागिर गर्ने भन्दै केही महिनादेखि तिलोत्तमा नयाँमिलस्थित फर्निचर उद्योगको लेखा शाखामा काम गर्न थाल्नुभयो । प्रेम भने दिनभरि आमासँगै घरमै बस्थे ।

पुष्पकका अनुसार अमृता दिनभरि काममा गए पनि साँझ–बिहान घरपरिवारसँग झगडा भइरहन्थ्यो । परिवारले अमृतालाई महिनाभरि काम गरेको पैसा कहाँ खर्च गर्छेस् भनेर तनाव दिने गरेको दाजु पुष्पक बताउनु हुन्छ । नजिकै भएकाले घरपरिवारमा भएका सामान्य झगडा पनि माइती पक्षले थाहा पाइहाल्थे । झगडा हुँदा दाजु पुष्पक र भाउजु मुना अमृताको घरमा पुग्थे र बहिनी, ज्वाइँ दुबैलाई नै सम्झाएर फर्किन्थे ।

चार–पाँच दिनपहिले अमृताले आफूलाई भारत जान परिवारले दबाब दिइरहेको तर आफूलाई जाने इच्छा नभएको पुष्पकलाई बताउनु भएको थियो । यहाँ हुँदा घरपरिवारले हेला गरे पनि माइतीको सहारा रहेकाले भारत जान नचाहेको बरू कुनै तेस्रो मुलुक जान पाए रोजगारीको लागि जानुपर्छ कि भनेर दाजुसँग सल्लाह गर्नुभएको थियो ।

चैत २९ गते साँझ पनि श्रीमानले कुटपिट गरेको भन्दै अमृताले रूँदै दाजुलाई फोन गर्नुभयो । पुष्पक र मुना तुरून्तै घरमा पुगे । घरमा पुग्दा घर वरिपरिका मानिस जम्मा भइसकेका थिए । अमृताकी सासु दीपा टण्डनले दाजुभाउजुलाई घरमा नछिर्न भनिन् । दुई पक्षबीच केहीबेर भनाभनसमेत भयो । घर फर्किँदा पुष्पकले बहिनीमाथि कुनै नराम्रो भए आफूले नछोड्ने भनेका थिए ।

चैत ३० गते बिहान अमृता फर्निचर उद्योगमा काममा जानु पहिले माइती जानुभएको थियो । पुष्पकले बहिनीलाई अरू दिनभन्दा त्यो दिन बढी निराश देख्नुभएको थियो । उहाँ खानासमेत नखाई काममा जानुभयो । पुष्पक आफैंले अफिस पुर्याइदिए । साँझ फेरि झोलामा केही जोर कपडा बोकेर अमृता माइत जानुभयो ।

माइतीमै रहेको बेला श्रीमानले फोन गर्दै चेतावनी भाषमा भन्नुभएको थियो, ‘वर्षको अन्तिम दिन चैतको मसान्तीमा घरभन्दा बाहिर गएर बस्यो भने परिवारको कान्छो सदस्यलाई नराम्रो हुन्छ रे ।’ घरका कान्छा सदस्य अमृताका छोरा आदित्य थिए । प्रेमले छोरालाई केही भयो भने त्यसको जिम्मेवार तँ आफैं हुनुपर्छ भनेर चेतावनी दिएपछि अमृता साढे आठ बजेतिर माइतीबाट घर फर्किनु भएको थियो । तर त्यो दिन नै अन्तिम दिन बन्न पुगेको पुष्पकले बताउनु भयो ।

‘अब हामीलाई न्याय चाहिएको छ,’ उहाँले भन्नुभयो । अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको भए पनि अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । उहाँको मृत्यु किटनाशक विषादीको प्रयोगबाट भएको चिकित्सकलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बालीनालीमा लाग्ने किराफट्याङग्रा मार्न प्रयोग हुने अत्यन्त घातक उक्त विषादी नेपालमा बिक्री वितरण गर्न बन्देज छ ।

प्रहरीले अमृताका श्रीमान प्रेमलाई बुधबार राति र सासु ससुरालाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ । पुष्पकले बहिनीलाई कुनै खाना वा पेयमा विषादी मिलाएर घरपरिवारले हत्या गरेको दाबी गर्दै सोही अनुरूप अनुसन्धान अगाडि बढाउन माग गरेका छन्।

’प्रहरीले छिटो–छिटो पोष्टमार्टम गर्न आउनुस् भन्दै दबाब दिइरहेको छ, हामीले फरेन्सिक ल्याबसहितको विज्ञ टोली ल्याएरमात्रै पोष्टमार्टम गर्नुपर्ने बताएका छौं,’ पुष्पकले भन्नुभयो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आरोपितलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेकाले अनुसन्धानमाथि अनावश्यक आशंका नगर्न आग्रह गर्नुभयो।