जनता टाइम्स

४ बैशाख २०७९, आईतवार १६:२४

२९ अंकले घट्यो सेयर बजार


काठमाडौं, ४ वैशाख । वर्षको पहिलो दिन सेयर बजार नेप्से २९ दसमलव ६० अंकले ओरालो लागेको छ । नेपाली सेयर मार्केट नेप्से २०७९ साल बजार खुलेको पहिलो दिन आज सेयर परिसूचक १ दशमलव २३ प्रतिशतले घटेर बजार २३ सय ८५ दशमलव ६५ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा आज ३४ लाख सात हजार २७२ कित्ता शेयर कारोबार हुँदा एक अर्ब ४४ करोड सात लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । केही दिनदेखि नेप्सेमा सेयर कारोबार रकममा निरन्तर ओरालो लाग्दै आएको छ । सेन्सेटिभ इन्डेक्स ५ दशमलव १२ अंकले गिरावट आउँदा इन्डेक्स ४५० दशमलव ९८ अंकमा पुगेको छ । आज बजारमा २४ कम्पनी नाफा कमाउँदा १६७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

आज घटेको बजारमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २२६ रुपैयाँ बढेर दुई हजार ४८८ रुपैयाँ मा कारोबार भएको छ । त्यस्तै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको २१ रुपैयाँ बढेर ५४२ रुपैयाँमा कारोबार भएको छ ।