जनता टाइम्स

८ बैशाख २०७९, बिहीबार १६:२१

छाङरु झरेको प्रहरी फर्केनन्, टिंकर नाका सुरक्षाविहीन


दार्चुला, ८ वैशाख । चीनसँग सीमा जोडिएको टिंकर नाका अहिले सुरक्षाकर्मीविहीन बनेको छ । हिउँदमा भारी हिमपात हुने यो नाका र आसपासमा कार्तिक पहिलो सातादेखि सुरक्षाकर्मी छैनन् । हिउँ पर्न थालेपछि यहाँका प्रहरी १२ किलोमिटर तल छाङरु झरेका थिए । तर, उनीहरू हालसम्म उक्त क्षेत्रमा नखटिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

टिंकरका बासिन्दाहरू पनि हिउँद छल्न गत असोजमै दार्चुला सदरमुकाम खलंगा झरेका थिए । उनीहरू पनि फर्किएका छैनन् । यो क्षेत्र अहिले मानवविहीन छ । चैत महिनाबाट यस क्षेत्रमा हिउँ पग्लिने गर्छ । टिंकरमा सशस्त्र प्रहरीको बिओपी राख्न गाउँबाट दुई किलोमिटर माथिल्लो क्षेत्रमा भवनको निर्माण गरिएको छ । गत भदौ महिनामा निर्माण सम्पन्न भएको भवनमा सशस्त्र प्रहरी बस्न भने सकेको छैन ।

बिओपीको दुइ भवन ब्लकसँगै भान्सा र शौचालय निर्माण गरिएको छ । टिंकर सीमा प्रहरी चौकीनजिकै बनाइएको बिओपीको भवन टिंकर भन्सारको छियालेक क्षेत्रको जमिनमा छ । यहाँबाट चार पाँच घण्टा उकालो पैदल यात्रा गरेपछि नेपाल र चीन सीमाना छुट्याउने टिंकर भञ्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ । टिंकरमा निर्माण भएको बिओपीमा सुरक्षाकर्मी राख्न माथिबाट कुनै निर्देशन प्राप्त नभएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताउनुभयो ।

‘यद्यपि, निर्वाचनका बेला टिंकर क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोली खटिन्छ, स्थायी रुपमा बस्नका निर्देशन आएपछि बस्छौँ’ एसपी विष्टले भन्नुभयो । व्यास गाउँपालिका–१ को टिंकरसहित दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापना तयारी भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

मौषम प्रतिकुलताले हालसम्म तिंकरमा बिओपी बस्न नसकेको र स्थानीय तह निर्वाचनपछि स्थापनाको हुने उहाँले बताउनुभयो । ‘कोरोना प्रभावले चीनसँगको सीमा नाकामा आवत जावत बन्द रहेकाले हाल तिंकर क्षेत्रमा सुरक्षाकर्मी बस्नु आवश्यक देखिएन, छाङरुमा सशस्त्र प्रहरीको गुल्म छ, निर्वाचनको समयमा सुरक्षा जनशक्ति विभिन्न ठाउँमा खटिने भएकाले त्यसपछि बिओपी बस्छ,’ प्रजिअ उपाध्यायले भन्नुभयो ।

व्यास गाउँपालिकाको वडा नम्बर १ कौवा, वडा नम्बर ४ सुन्सेरा र लेकम गाउँपालिकाको रतौडामा पनि बिओपी सञ्चालन तयारी भइरहेको उपाध्यायले बताउनुभयो । व्यास गाउँपालिकाको सुन्सेरामा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेकोले त्यसको सुरक्षाका लागि सुन्सेरामा छिट्टै बिओपी सञ्चालन तयारी भइरहेको उहाँले बताउनुभयो । सुन्सेरामा बिओपीको भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया भइरहेको छ ।