जनता टाइम्स

२६ असार २०७६, बिहीबार १५:४८

एनआरएनएको म्यानमार बैठक निकै उपलब्धीमुलक : उपाध्यक्ष कुल आचार्य


काठमाडौं, असार २६

गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्यले म्यानमारको यांगुनमा सम्पन्न एसिया प्रशान्त क्षेत्रको सातौँ तथा दोश्रो एसिया प्रशान्त महिला बैठक निकै उपलब्धिमूलक रहेको बताउनु भएको छ । बैठक सम्पन्न भएपछि जनताटाइम्ससँग कुरा गर्दै आचार्यले म्यानमार बैठकबाट धेरै कुरा सिक्ने अवसर मिलेको बताउनु भयो ।

‘म्यानमारको यांगुनमा सम्पन्न एनआरएन एसिया प्रशान्त क्षेत्रको सातौँ तथा दोश्रो एसिया प्रशान्त महिला बैठक निकै उपलब्धिमूलक रह्यो। म्यान्मारमा बसोबास गर्ने नेपाली समुदायले नेपाली संस्कृति, भाषा र भेष जगेर्ना गर्न गरेका प्रयासबाट थुप्रै कुरा सिक्ने मौका पाइयो,’ उपाध्यक्ष आचार्यले भन्नुभयो । बैठकको क्रममा अन्य बिभिन्न देशबाट आएका एनआरएनका सदस्यहरुसँग कुराकानी गर्ने अवसर मिलेको भन्दै आचार्यले बैठक फलदायी बनाउन भुमिका खेल्ने सवैलाई धन्यवाद दिनुभयो ।

‘थाईल्याण्डलगायत एसिया प्रशान्त क्षेत्रका साथै अन्यत्रबाट आउनु भएका साथीहरुसंग पनि छलफल गर्ने मौका मिल्यो। बैठकको संयोजनका लागि शुरु देखि खट्नु भएका आदरणीय महामहिम राजदूत भीम उदासको सक्रियता निकै प्रेरणादायी रह्यो। त्यस्तै बैठकलाई सफल पार्न रातदिन खट्नु भएका एनआरएन एसिया प्रशान्त क्षेत्रका संयोजक किरण थापा सहित सम्पूर्ण टिम, एनआरएनए एनसीसी म्यानमारका एसके क्षेत्रीका साथै सम्पूर्ण टिम लगायत सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु,’ आचार्यले भन्नुभयो ।

उहाँले अब सबैसंग आउँदो अक्टोबर महिनामा विश्व सम्मेलनको अवसरमा काठमाडौँमा भेटघाट हुने विश्वास लिएको भन्दै अध्यक्षमा उम्मेदवारी दिने प्रष्ट संकेत गर्नुभएको छ ।