जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १४:२९

काभ्रे एमालेले चुनावी मैदानमा भिड्न खडा गर्यो उम्मेद्वार


शुकदेव थपलिया /काभ्रे, ११ बैशाख । आसन्न स्थानीय निर्वाचन वैशाख ३० का लागि नेकपा एमाले काभ्रेले सबै स्थानीय तहमा उम्मेदवार खडा गरेको छ । गठबन्धन र अन्य दलले आफ्नो उम्मेद्वार चयन गर्न सकस भैरहेको बेला आईतबार बिहान नै एमाले काभ्रेले काभ्रेको १३ ओटै स्थानीय निकायमा आफ्नो उम्मेद्वार खडा गरिसकेको काभ्रे नेकपा एमालेले जनाएको छ । एमाले काभ्रेले काभ्रेको १३५ वटा वडाको वडाध्यक्ष देखि वडा सदस्य सम्म टुंगो लगाएको जनाएको छ ।

कुन स्थानिय तहमा को ?

बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा दाहाल रहेका छन् । धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारीलाई उम्मेदवार बनाएको छ । पनौतीको प्रमुखमा पुनः भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा लाई उम्मेद्वार बनाएको छ । नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाललाई उम्मेदवार बनाएको छ ।

पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई तोकेको छ । यस्तै भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाएको जनाएको छ ।

उम्मेदवार टुंगो लागे पनि १३ वटै स्थानीय तहमा १२ गते सोमबार उम्मेदवारी दर्ता गर्ने गरी एमालेले तयारी गरेको छ । यता सत्ता साझेदार दललाई गठबन्धनको उम्मेद्वार चयन गर्न सकस भैरहेको छ । चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको हो । स्थानिय चुनावी तालमेल गर्न काभ्रेमा सत्तारुढ गठबन्धन दलको पटक-पटक बैठक बसे पनि अझै पालिका बाँडफाँटमा सहमति जुटन सकेको छैन । यसैबीच सत्ता साझेदारमा सकस भए पछि नेकपा माओवादी केन्द्र काभ्रेले प्रतिपक्षी दल सँग पनि गठबंधन गर्ने प्रयास गरेको कुरा समेत बुझिएको छ । यस्तै आज मनोनयन दर्ता गर्न काभ्रेको ६ नगरपालिकामा बिभिन्न अरु साना मानिएको दल र स्वतन्त्र उम्मेद्धारले आज उम्मेद्वार दर्ता गरेका छन् ।