जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १५:५४

जग्गा दर्ता गराउँदा १ लाख ५० हजार घुस लिने ताप्लेजुङका मालपोत अधिकृत अख्तियारको नियन्त्रणमा


फुङ्लिङ, ११ वैशाख । जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । टोलीले महतलाई सेवाग्राहीबाट लिएको रु एक लाख ५० हजारसहित नियन्त्रणमा गरेको हो ।

बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट रु एक लाख ५० हजार रकम लिएको अभियोगमा पनेरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो ।

फुङ्लिङ वडा नं ४ स्थित एक घरमा सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । गत साउन महिनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।