काठमाडौं, १३ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज हेर्दाहेर्दैमा सकिएको छ । आज न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलाशमा उक्त मुद्दाको सुनुवाई सुरु भएको थियो । तर आज सुनुवाई नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । यसअघि बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एल इजलाशले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारवाही अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उहाँमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो । त्यस्तै इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । अदालतले उहाँलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको छ ।
सोहि अनुसार आज दुवैपक्षबीच यस विषयमा छलफल भएको हो । तर आजको बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो । अब यस मुद्दामा अर्को दिन पनि बहस हुनेछ । उक्त बहसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयको टुंगो लगाउने छ । सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उहाँ सर्वोच्चमा जानुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्