जनता टाइम्स

१५ बैशाख २०७९, बिहीबार १५:०१

कांग्रेसले कारबाही गरेपछि मल्लले त्यागे सांसद पद


डडेल्धुरा, १५ वैशाख । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्याग्नुभएको छ । आज डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

‘राणा कालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौणका हाकिम हटाएझैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ,’ उहाँले भन्नुभयो, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले दिँदैन। आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चार माध्यमबाट घोषणा गर्दछु।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट हुनुहुन्थ्यो । आसन्न स्थानीय तहको निर्वाचनमा उहाँले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उहाँलाई कारबाही गरिएको थियो ।