जनता टाइम्स

३ भाद्र २०८३, बुधबार १६:३०

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, पक्षमा ३१ सांसद


काठमाडौं, भदौ ३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। यही भदौ २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भट्टले आज प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो।

मतदानमा मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गर्नुभएको छ। उहाँलाई नेकपा एमालेका ११ र नेकपाका २० सांसदले समर्थन गर्नुभएको हो।

नेकपाका तर्फबाट साविक नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ तथा साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्नुभएको हो।

यस्तै, मुख्यमन्त्रीको विपक्षमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ सांसदले मतदान गर्नुभएको छ। कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती भने मतदानका क्रममा उपस्थित हुनुभएन।

५१ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल केही सांसदको पद रिक्त तथा निलम्बित रहेकाले मतदानमा सहभागी सांसदको संख्या फरक देखिएको हो। डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनुभएको थियो। कैलालीबाट निर्वाचित प्रकाश देउवाको पदसमेत रिक्त रहेको छ। कैलालीबाटै निर्वाचित अर्का सांसद दीर्घ सोडारी निलम्बित हुनुहुन्छ।

विश्वासको मत प्राप्त भएसँगै मुख्यमन्त्री भट्ट नेतृत्वको प्रदेश सरकारलाई आगामी कार्यकालमा सरकार सञ्चालन तथा नीति–कार्यक्रम अघि बढाउन संवैधानिक आधार बलियो भएको छ।