काठमाडौं, साउन २८ । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहको राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरिएको हो ।
नयाँ सरकार गठनका लागि साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न समय दिइएको छ ।
बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित दाबी पेस गर्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
दाबी पेस भएपछि प्रदेश प्रमुखले संविधानअनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन् । मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया सुरु भएको छ ।













प्रतिक्रिया दिनुहोस्