धनगढी, साउन २९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट शुक्रवार मुख्यमन्त्री नियुक्त भएसँगै नेकपा एमालेका चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो ।
सुदुरपश्चिममा एमाले सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी भएको छ। सरकारको नेतृत्वकर्ता थापा सामाजिक विकासमन्त्री बन्नुभएको छ । यसैगरी चक्र मल्ल आर्थिक मामिला, दमन भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्नुभएको छ भने जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री बन्नुभएको छ । नेकपाबाट भने मन्त्रीको टुङ्गो लागिसकेको छैन।
नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो । लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
यसअघि, संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्