जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०९:१३

सुदूरपश्चिममा आज नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै


काठमाडौं, साउन २९ । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनले नेकपा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गर्ने तयारी गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले हिजो साँझ पदबाट राजीनामा दिनुभएपछि प्रदेश प्रमुख मियाँले आज बिहान ११ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो।

गठबन्धनका तर्फबाट भट्टलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिने र उहाँलाई आजै दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ।

भट्ट दोस्रो कार्यकालका लागि सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुहुनेछ। नयाँ सरकार गठनसँगै प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनले सत्ता सम्हाल्नेछ।