जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार ०९:३७

औधोगिक क्षेत्रका लागि अभिषाप बन्यो कुलमानको दोस्रो कार्यकाल : ठूला उद्योगमा चौबिसै घण्टा बिजुली कटौती


काठमाडौं, बैशाख १९ । नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमा चौबिसै घण्टा बिजुली कटौती गर्न थालेको छ । आन्तरिक उत्पादनले माग नधान्ने र भारतबाट पनि बिजुली नआउने भएपछि उद्योगहरूको विद्युत् लोड काटिएको हो । बिजुली पाउन छाडेपछि निजी क्षेत्रका छाता संगठनहरूले विरोध जनाएका छन् । पर्याप्त लोड उपलब्ध गराउनुपर्ने वा लोड कटौतीसम्बन्धी पूर्वजानकारी उद्योगहरूलाई दिइनुपर्ने उद्योगी–व्यवसायीहरूको माग छ ।

प्राधिकरणले भने अर्को कुनै विकल्प नभएसम्म उद्योगहरूलाई पर्याप्त बिजुली दिन नसकिने तर समस्या समाधानका लागि अधिकतम प्रयास भइरहेको बताएको छ । भारतीय उत्पादकहरूसँग सोझै बिजुली खरिद गर्ने गरी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग छलफल भइरहेको पनि प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको समस्या अधिकतम एक साता मात्रै रहने दाबी गर्नुभएको छ ।

प्राधिकरणले महँगो मूल्यमै भए पनि भारतबाट बिजुली किन्न पाए ल्याउने बताउँदै आएको छ । त्यहाँको सरकारी कम्पनी एनभीभीएनमार्फत सोझै उत्पादकहरूसँग बिजुली खरिद गर्न पहल भइरहेको प्राधिकरणको भनाई छ । विद्युत् प्राधिकरणले भारु ४ रुपैयाँ १५ पैसामा ३५० मेगावाट बराबर बिजुली किन्ने गरी एनभीभीएनसँग सम्झौता गरेको छ । तर भारतमा बिजुली महँगो भएपछि उसले नेपाललाई बिजुली दिइरहेको थिएन । अहिले एनभीभीएनले भारतीय उत्पादकहरूसँग महँगो मूल्यमा बिजुली किन्ने र त्यो बिजुली नेपाललाई उपलब्ध गराउने गरी छलफल अघि बढाइएको हो ।

भारतबाट महँगोमा बिजुली किन्दा त्यसबाट पर्ने आर्थिक भार बेहोर्न प्राधिकरणले निजी क्षेत्रलाई गुहारिरहेको छ । प्राधिकरण आफैंले उद्योगीहरूलाई पटक–पटक महँगोमा बिजुली किनिदिन आग्रह गर्दै आएको थियो । पछिल्लो पटक भने अर्थ मन्त्रालयले समेत उद्योगीहरूलाई बोलाएर महँगोमा बिजुली किनिदिन भनेको छ ।

भारतबाट महँगोमा बिजुली किनेर उद्योगीहरूलाई सस्तो मूल्यमा बेच्दा प्राधिकरणलाई घाटा हुने भएपछि निश्चित समयका लागि महँगो मूल्यमा बिजुली किनिदिन भनेको हो । तर उद्योगी व्यवसायीहरूले भने अर्थ मन्त्रालयको उक्त प्रस्ताव मानेका छैनन् ।

केही समयका लागि महँगो मूल्यमा बिजुली किन्न उद्योगी व्यवसायीहरूलाई मनाउन सकिने भए पनि पर्याप्त बिजुली पाउनेमै आफूहरूलाई शंका रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताउनु भयो । ‘उद्योगहरूलाई कति घण्टा बिजुली दिन सकिन्छ, त्यसको ग्यारेन्टी प्राधिकरणले गरिदिओस्, छोटो समयका लागि हामी महँगो मूल्यमै बिजुली किन्न तयार छौं,’ उहाँले भन्नुभयो । महँगो मूल्य तिर्दा पनि पर्याप्त बिजुली पाउने विश्वास उद्योगीहरूमा नरहेको उहाँको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि प्राधिकरणले पर्याप्त बिजुली उपलब्ध गराउन सक्नेमा शंका रहेको बताउनु भयो । ‘सरकारले महँगो महसुलमा बिजुली किनिदिन भनिरहेको छ तर महँगो मूल्य तिरेर पनि पर्याप्त बिजुली पाउनेमा हामी आश्वस्त छैनौं,’ अग्रवालले भन्नुभयो, ‘उद्योगहरूले डिजेल पनि महँगोमै किन्ने बिजुली पनि महँगोमै किन्दा त्यसले उत्पादनका शृंखला र वस्तुको मूल्यमा पनि असर गर्छ । त्यसमा पनि ध्यान दिइओस् ।’

वर्षायाममा नेपालको बिजुली खेर जाने भए पनि सुक्खायाममा उत्पादन घटेर आधाभन्दा कम हुन्छ । कुल २ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना सञ्चालनमा रहे पनि उत्पादन भने त्यसको आधा बराबर पनि छैन । अहिले नेपालको कुल बिजुली माग सामान्य अवस्थामा १४ सयदेखि १५ सय मेगावाट र पिक समयमा करिब १७ सयम मेगावाट बराबर हो । त्यसमध्ये प्राधिकरणको आन्तरिक उत्पादन र निजी क्षेत्रको समेत उत्पादन गरेर ९ सयदेखि १ हजार मेगावाटसम्म बिजुली प्रणालीमा उपलब्ध छ । बाँकी साढे ४ सय देखि ५ सय मेगावाटसम्म अपुग छ ।

यो बिजुली प्राधिकरणले भारतबाट आयात गर्दै आएको थियो । भारतमा पनि अहिले ऊर्जा संकट देखिएपछि नेपालको बिजुली पाउन छाड्यो । भारतले करिब ७० प्रतिशत बिजुली कोइला र थर्मल प्लान्टबाट उत्पादन गर्दै आएको छ । तर युक्रेनमाथि रुसको आक्रमणका कारण विश्व बजारमै कोइला अभाव भएपछि बिजुली उत्पादन घटेको छ । भारतले एक दर्जनभन्दा बढी राज्यहरूमा ऊर्जा संकट घोषणा नै गरिसकेको छ । यस्तो अवस्थामा नेपालले पनि बिजुली पाउन छाडेको हो । नेपालले मुख्य गरी भारतबाट तीन वटा तरिकाले बिजुली ल्याउने गरेको थियो ।

अहिले औद्योगिक ग्राहकहरूका लागि करिब ३ सय मेगावाट बराबर बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ । अहिले उद्योगहरूलाई बत्ती बाल्ने प्रयोजनका लागि मात्रै बिजुली दिएको र मेसिनहरू नचलाउन भनिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार ‘उद्योगहरूलाई लाइटिङ लोड मात्रै दिइइको छ । अर्को व्यवस्था नहुन्जेलसम्म थप बिजुली दिन सकिँदैन । औद्योगिक भार २४ घण्टाजसो नै काटिएको छ ।