जनता टाइम्स

२२ बैशाख २०७९, बिहीबार ०९:२९

पहिलो महिला मेयर बनेर वीरेन्द्रनगर हाँक्ने यस्तो छ मोहनमायाको योजना


नेकपा एमालेकी केन्द्रीय सदस्य, सुर्खेत जिल्ला सहइन्चार्ज एवं वीरेन्द्रनगर नगरपालिकाकी निवर्तमान उपमेयर मोहनमाया ढकाल एमालेबाट मेयर पदमा गठबन्धनसँग प्रतिष्पर्धा गर्दै हुनुुहुन्छ । २०७४ सालको स्थानीय निर्वाचनमा लोकप्रिय मत ल्याएर उपमेयरमा विजयी भएकी युवा नेतृ ढकालको उम्मेदवारीले वीरेन्द्रनगरबासी उत्साहित भएका छन् । काममा लगनशिलता, स्वभावमा सरलता,पार्टी र संगठनप्रतिको प्रतिवद्धता, जनताका दुःखमा सधैं सदाशयता मोहनमायालाई वीरेन्द्रनगरबासीले दिने उपमा हुन् । छोटो समयमा चुलिँदो राजनीतिक यात्राका क्रममा ढकाललाई अर्को एउटा अवसर आएको छ, त्यो हो कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पहिलो महिला मेयर बन्ने । काँग्रेस माओवादीको फितलो गठबन्धन भन्दा फराकिलो अन्तरले अगाडि देखिएकी ढकाल अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ । वडा नं १ मा घरदैलोमै व्यस्त रहेका बेला नवयुगले ढकालसँग वीरेन्द्रनगरको चुनावी माहोलका बिषयमा केही प्रश्नहरु सोधेको थियो । प्रस्तुत छ ढकालसँगको कुराकानी


चुनावी अभियान कसरी बढाउँदै हुनुहुन्छ ?

हामीले उम्मेदवारी दर्ता गरेको आज ११ दिन भयो । उम्मेदवारी दर्ता गरेपछि औपचारिक रुपमा चुनाव प्रचारप्रसारका लागि जनताको घरआँगनमा पुगेका छौं । उम्मेदवारी दर्ता भन्दा अघि पार्टीका एजेण्डा र चुनाव जित्ने रणनीति बनाउनमा व्यस्त भयौं । त्यसबीचमा हामीले प्रदेश कमिटीदेखि टोल कमिटीसम्मका सबै बैठकहरु ग¥यौं । र, हामीले वीरेन्द्रनगरमा मात्र होइन कर्णाली प्रदेशमा नै पार्टीलाई पहिलो बनाउने कार्ययोजना पास गरेका छौं । त्यसै अनुसार वीरेन्द्रनगरमा पनि घरदैलोमा जाने, आफ्ना कुरा भन्ने, हामीप्रतिका गुनासा सुन्ने, हामीसँग भएका केही असमझदारीका कुराहरु समाधान गर्ने काम गरिरहेका छौं ।

यसैगरी विभिन्न पेशागत क्षेत्रका व्यक्तित्वहरुसँग अलग अलग भेटघाट र बैठकहरु गर्ने, उहाँहरुका सुझाव सुन्ने काम भइरहेका छन् । केही संगठन र पेशागत क्षेत्रका व्यक्तित्वहरुसँगको भेटघाट जारी नै छ । यसबीचमा हामीले केही वडाहरुमा घरदैलो सक्यौं । पार्टीले नगरपालिकामा जितेपछि आगामी पाँचवर्षमा के गर्छ भन्ने कुराको प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छौं ।

तपाईंले आगामी पाँचवर्षमा के गर्नुहुन्छ भन्ने पनि जनतालाई जिज्ञासा होला, त्यो भन्दा पहिले त तपाईंले वितेको पाँच बर्ष उपमेयर हुँदा के गर्नुभयो भन्ने पनि नगरबासीको चासो छ । के के गर्नुभयो पाँचवर्षमा ?
अघिल्लो पटक म मेयर होइन, उपमेयरमा निर्वाचित भएकी हुँ । संविधान र कानुनले मेयर र उपमेयरले गर्ने कामका क्षेत्रहरु तोकिदिएको छ । उपमेयरलाई दिएका मुख्य कामहरु न्यायिक समितिको संयोजक, अनुगमन समितिको संयोजक, राजश्व परामर्श समितिको संयोजक आदि । मेरा अधिकार क्षेत्रभित्रका कामहरु मैले विवादरहित, जनताका पक्षमा कुशलतापूवर्क निर्वाह गरेको छु । मेरो पालामा करिब ८० वटा नयाँ कानुनहरु बने । योजनाहरुको अनुगमन समयमै र प्राविधिक हिसाबले उपयुक्त हुने देखेपछि मात्र सम्पन्नताको सिफारिस गरिएको छ ।

नगरपालिकामा म उपमेयर भए पनि एमालेको तर्फबाट म मेयरकै भूमिकामा थिंएँ । जसले गर्दा पार्टीले सिफारिस गरेका योजनाको कार्यान्वयन, पार्टीको तर्फबाट कार्यपालिकामा लैजाने एजेण्डाहरुको सरसल्लाह मैले पार्टी नेतृत्वसँग परामर्श गरेर मात्र गरें । महिलाहरुलाई रोजगारी, पाठेघरको निशुल्क जाँच, महिनावारी भएका बेला छात्राहरुले विद्यालय नछोडुन् भनेर निःशुल्क स्यानीटरी प्याड वितरण गरियो । त्यस्तै शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्दछ भनेर धेरैवटा विद्यालयमा कम्प्यूटर, ल्यापटप र इन्टरनेटको प्रवन्ध गरिएको छ ।

विद्यालय र साना नानीहरुका समस्या आफैं बुझ्न र थाहा पाउन ‘कक्षा कोठामा उपमेयर’ कार्यक्रम लिएर केही विद्यालयमा म आफैं गंए । महिनाको एक पटक एउटा कक्षा कोठामा ४० मिनेट बिताउने मेरो यो कार्यक्रम कोरोनाले गर्दा निरन्तरता पाउन सकेन । तर जति ठाउँ म जान सकें, विद्यार्थी र विद्यालयका समस्या नजिकबाट अनुभूति गर्न पाएँ । यसले गर्दा शिक्षा क्षेत्रमा पनि धेरै परिवर्तनका कामहरु गर्ने प्रेरणा मैले पांएँ ।

तपाईंको कार्यकालका उपलब्धिलाई बुँदागत रुपमा भन्नुपर्दा नि ?
उपलब्धि धेरै छन् । म उपमेयर भएर गएपछि गरेका कामहरु आम नगरबासीले देख्नुभएको छ । हामी निर्वाचित भएर गएको वर्ष कानुन बनाउनमा बित्यो । दोस्रो वर्ष उत्साहपूर्ण ढंगले काम गर्दै थियौं । कोरोनाले हाम्रो गतिमा ब्रेक लगाइदियो । कोरोनाकालमा मेयर पारिवारिक कारणले लकडाउनभरि नगरपालिकामा हुनुहुन्थेन । त्यसैले कार्यवाहक मेयरको रुपमा कोरोनाको पहिलो काल मेरै नेतृत्वमा पार लगाएको सबै नगरबासीलाई थाहा छ । राहत बाँड्ने, क्वारेन्टाइन बनाउने, गाडी खोजेर अलपत्र यात्रुलाई गन्तव्यमा पु¥याउने यी सबै काम मेरै नेतृत्वमा भएका हुन् ।

भौतिक पूर्वाधार र अन्य क्षेत्रमा मेरा पाँचवर्षमा भएका धेरै काममध्ये केहीलाई म यसरी सम्झन्छु ।
१.योजनामा परेका सडक कालोपत्रे
२.चक्रपथ बिस्तारलाई निरन्तरता
३.हटलाइन सेवा सञ्चालन
४.नगरका जीर्ण विद्यालय भवन निर्माण
५.महिला तथा बालबालिकाका लागि नगर अस्पताल सञ्चालन
६.काँक्रेबिहार र बुलबुले ताल पुनःनिर्माण
७.छोरी जन्म बचत कार्यक्रम
८.कोरोनाकालको प्रभावकारी व्यवस्थापन
९.कोरोना खोप प्रभावकारी ढंगले सञ्चालन
१०.एक घर दुई विरुवा, हामी आफै कुरुवा कार्यक्रम

अब मेयर भएपछि के गर्नुहुन्छ ?
जनप्रतिनिधि भनेको व्यक्ति होइन, संस्था हो । संस्थामा सामूहिक निर्णय हुन्छ । तर नेतृत्व गर्ने व्यक्तिको भिजन महत्वपूर्ण हुन्छ । हाम्रो पार्टीले मेयर उपमेयरलाई चुनाव जिताएपछि के गर्छ भनेर हामीले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छौं । जुन तपाईंंले पाइसक्नुभएको छ । त्यसमा हे¥यो भने पूर्वाधार विकासदेखि सहकारीसम्मका ११ वटा मूल क्षेत्रहरुमा हामीले गर्ने करिब दुईसय वटा कामका क्षेत्रहरु हामीले तोकेका छौं । त्यसमध्ये कुनै तत्काल, कुनै मध्यकाल र कुनै पाँचै वर्ष लाग्ने गरीका काम तय गरेका छौं । यो प्रतिवद्धता पत्र हाम्रो पार्टीका टोल कमिटी, वडा कमिटी, विभिन्न जनवर्गीय संगठनहरुका सुझाव र मागका आधारमा तय गरिएकोले तिनको कार्यान्वयन मेरो पहिलो प्राथमिकता हुन्छ ।

गठबन्धनसँग चुनाव जित्ने आधार के छन् तपाईंका ?
जायज प्रश्न सोध्नु भयो । गठबन्धन कस्तो बेलामा हुन्छ ? तपाईंलाई थाहा होला जब कोही व्यक्ति कमजोर हुन्छ अनि उसले अर्काको सहारा लिन्छ अर्थात गठबन्धन गर्छ । हो, अहिलेको गठबन्धन बलियो एमाले विरुद्ध कमजोरहरुले गरेको मिलेमतो हो । जसको कुनै भिजन, मिसन र वीरेन्द्रनगरलाई दिने योजना छैन । यो केवल एमालेको लोकप्रियता,अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देश विकासको हुटहुटी, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सुनिने र देखिने देश बनाएकोमा अन्य पार्टीहरु अत्तालिएर बनाएको एउटा गठजोड हो ।

विभिन्न षडयन्त्रबाट करिब दुईतिहाइ बहुमतको आफ्नै पार्टीको सरकार ढालेर परमादेशबाट वर्तमान सरकार बनेको हो । तर, अझै उनीहरुलाई एमाले र केपी ओली मजबुद छन्, चुनाव हराउन सकिँदैन भन्ने नै छ । र, वास्तविकता पनि त्यही हो । एक्लाएक्लै एमालेसँग भिड्न त उनीहरुले आँटै गरेनन् । गठबन्धन गरेर एमालेलाई हराउन सकिन्छ भन्ने झिनो आशा बोकेर खुकुलो गठबन्धन बनाएर हामीसँग भिड्न आएका छन् । तर,आफैंभित्रको समस्यामा अल्झिएका गठबन्धनका घटकहरुले एमालेलाई हराउने हैन, फराकिलो अन्तरका उपविजेता हुनेछन् उनीहरु ।

एमाले एकतावद्ध भएर लागेको छ त चुनावमा ?
एमालेको नीति, विधि, सिद्धान्त र बिचारमा बिमति राख्नेहरु पार्टी छोडेर गइसके । त्यसैले अहिलेको एमाले एकतावद्ध छ । केपी शर्मा ओलीको नेतृत्वमा भएका आम नेता कार्यकर्ता एमालेलाई स्थानीय चुनावमा भारी मतका साथ विजयी गराएर आउने संघीय र प्रदेशको निर्वाचनमा दुईतिहाइका साथ पार्टीलाई सरकारमा पुर्याउन आतुर छन् । त्यो अवस्था देशभरि जस्तै वीरेन्द्रनगरमा पनि छ ।

मसहित अन्य कमरेडहरुले पनि मेयरमा दाबी गर्नुभयो । हामीले लामो छलफल ग¥यौं । सहमति खोज्न समय लगायौं । तर हामीले निर्वाचन गरेर बहुमत, अल्पमतको निर्णय गरेनौं । अन्त्यमा मेरो नाममा सर्वसम्मति भयो । आकांक्षी कमरेडहरु अहिले निर्वाचन जिताउने अग्रमोर्चामा हुनुहुन्छ । उहाँहरु मेरो अग्रज पनि हो । उहाँहरुको सद्भाव, आम कार्यकर्ताको लगाव र नगरबासी सबै मतदाताको मायाले मैले चुनाव जित्दैछु । एमालेले वीरेन्द्रनगरमा विजयको झण्डा गाड्दैछ । त्यति मात्र होइन, २०७९ साल जेठको पहिलो हप्ता वीरेन्द्रनगरले प्रथम महिला मेयरको इतिहास पनि रच्दैछ ।