जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार ११:०६

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु : तारा महतो


यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ताराकुमारी काजी महतोले नेकपा एमालेको तर्फबाट माडी नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा सर्वाधिक मत ल्याएर माडीको उपमेयरमा निर्वाचित हुनुभएकी महतो अहिले मेयरको लागि चुनावी अभियानमा लाग्नुभएको छ । माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर उहाँले काम गर्नुभएको छ । माडीमा लोकप्रिय मानिने महतो, यहाँका आदिवासी, महिला, दलित, अल्पसङ्ख्यकलगायत माडीवासीको समस्या र पीडाको बारेमा जानकारी राख्नुहुन्छ । निर्वाचनसँग सम्बन्धित रहेर मेयरकी उम्मेदवार तारा कुमारी काजी महतोसँग कुलप्रसाद काफ्लेले गरेको कुराकानीको अंश–

निर्वाचनको अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?

हामीले आफ्ना धारणाहरु सार्वजनिक गरेर प्रतिवद्धतापत्र तयार गरी जनताको घरघरमा गएका छौं । जनताका गुनासा र समस्या सुन्ने, आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने काम गरेका छौं । ठाउँठाउँमा कोणसभा गर्ने, माडीवासीसँग प्रत्यक्ष भेटघाट गर्दै निर्वाचनको अभियानलाई अगाडि बढाएका छौं ।माडीवासीलाई समृद्ध माडी कसरी बनाउने भन्ने चिन्ता छ । माडीको विकासको लागि विभिन्न सुझावहरु दिनुभएको छ । हाम्रा योजना र विगतमा गरेका कामका कारण माडीवासीको भरोसा हामीप्रति नै छ । माडीवासीले अगाडि बढ्ने हौसला दिनुभएको छ ।

उपमेयर भएर एक कार्यकाल पूरा गर्नुभयो । अहिले किन मेयर बन्ने आका‌ंक्षा राख्नुभयो ?

अघिल्लो कार्यकालमा हाम्रो पार्टी नेकपा एमालेले मलाई उपमेयरमा उठ्ने अवसर दियो । म अत्यधिक मतले विजयी भएँ । म त्यतिबेलाको म्यान अफ दि इलेक्सन हो । उपमेयरको जिम्मेवारीमा रहेर काम गर्दा मैले धेरै कुराहरू सिकेँ । जनताका वास्तविक समस्याका साथै समग्र माडीका समस्यालाई गहिरिएर बुझ्ने मौका पाएँ । अहिले मलाई मेयर भएर काम गर्ने आँट आयो । माडीवासीबाट पनि हौसला र प्रेरणा पाएँ । त्यसैले माडीवासीकै आकांक्षा पूरा गर्नकै लागि पार्टीसँग समन्वय गरेर मैले मेयरमा उम्मेदवारी दिएको हो ।

उपप्रमुख भएर के–के काम गर्नुभयो त ?

न्याय सम्पादन, अनुगमन, अपांगताका हक हितका विषयहरुका साथै राजस्व परामर्श समितिको संयोजकमा रहेर मैले इमान्दारीसाथ जिम्मेवारी पूरा गरेँ । माडीबाट धेरै महिलाहरु ठोरी नाका हुँदै बेचबिखनको लागि भारत लाने गरेको थाहा पाएर नियन्त्रणमा अगाडि बढ्यौं । माडी नगरपालिकाबाट बाहिर जाने बगई नाकाबाट जाने बसहरुमा जाँच गर्न सहायता कक्ष बनाएर काम सुरु गर्‍यौं । यसरी काम गर्दा हरेक वर्ष लगभग ७ देखि १८ जनासम्म महिला, बालिका, किशोरीहरुलाई उद्धार गर्न सफल भयौं ।

यहाँका महिलाको स्वास्थ्य अवस्था दर्दनाक छ । तपाइँ उपमेयर हुँदा महिलाको स्वास्थ्यमा परिवर्तन गर्न सक्नुभयो ?

हामी निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रमा धेरै काम गरेका छौं । प्रत्येक वडामा स्वास्थ्य केन्द्रहरु स्थापना गरेका छौं । सामान्य उपचारमा सरसल्लाह गर्न अहेब, अनमी र एक जना सहयोगी गरी तीन जना कर्मचारी कार्यरत छन् । बगौंडा अस्पतालमा महिलाहरु गर्भवती हुँदा वा सो क्रममा गर्नुपर्ने दुई वटा भिडियो एक्सरे निःशुल्क गरेका छौं । बगौडा अस्पतालसम्म सुत्केरी हुन आउन परे घरमा सवारी साधन छैन । एम्बुलेन्स चाहिए त्यो पनि निःशुल्क गरिएको छ । कतिपय सुत्केरी र शिशुमा पोषणको कमी देखियो । त्यसका लागि पोषणको कार्यक्रम गर्नुपर्छ भनेर हामीले पोषणका कार्यक्रम पनि गरेका छौं ।

पाँच वर्षसम्म माडी नगरपालिकामा के कस्ता विकास भए त ? विगतमा जनतासँग गरेको प्रतिवद्धता पूरा गरेजस्तो लाग्छ ?

हामी नगरपालिकामा निर्वाचित भएर आएपछि धेरै विकासका कामहरू भएका छन् । बाटाहरु चौडा भएका छन् । पुलहरु निर्माण भएका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले माडीमा चार लेनको सडक र ११ वटा पुल बनाउन बजेट दिएको थियो । अहिले काम धमाधम भइरहेको छ । यो बीचमा विद्यालयहरूको स्तरोन्नति गरिएको छ । कृषि र पर्यटनमा आशालाग्दो परिवर्तन देखिएको छ ।

सुकुम्वासीहरुको स्थायी बसोवासको लागि पहल भइरहेको छ । यी कामहरू अगाडि बढाउन नेकपा एमालेको नेतृत्वमा रहेको केन्द्र र प्रदेश सरकारले धेरै सहयोग गरेको छ । यहाँहरुलाई थाहै छ । माडीमा रामअयोध्याधाम बनाउने भनेर पनि ठूलो चर्चा भयो । केही काम पनि भए । कतिपय काम हुनसकेनन् । अब अगाडि बढाउनुपर्छ । हामीले विगतमा प्रतिवद्धता जनाएअनुसार समृद्ध माडी बनाउनको लागि धेरै काम बाँकी छन् । मेयरमा निर्वाचित भएर सहमति र सहकार्यले तिनै कामहरु पूरा गर्ने अठोटका साथ अगाडि बढेकी छु ।

पाँच वर्ष तपाइँले उपमेयर रहेर काम गरिरहँदा आम मानिसको जीवनशैलीमा परिवर्तन ल्याउन सके जस्तो लाग्छ ?

हामीले माडी नगरपालिकामा अर्गानिक कृषि फर्म सञ्चालन गरेका छौं । वडा नंं. ८ मा प्रदेशकै नमुनाको रुपमा एउटा सामूहिक खेती सञ्चालन गरेका छौं । मगर, थारु, बोटे, दुरालगायतका होमस्टेहरू सञ्चालन गरेर ति समुदायका मानिसहरुलाई आयआर्जनसँग जोडेर काम गरेका छौं । होमस्टेहरूले जीवनमा परिवर्तन ल्याएको छ । माडीवासीमा शैक्षिक चेतना बढेको छ । कृषि कार्यमा परिवर्तन आएको छ । तर पनि यो पूर्ण होइन । अझै धेरै काम गर्न बाँकी छन् ।

एमालेले तपाईँलाई नै माडी नगरपालिकाको मेयरको उमेदवार किन बनाएको होला ?

म नै उमेदवार हुनुपर्छ भनेर मैले पार्टीलाई कहिल्यै दबाब दिइनँ । मैले कसैलाई तेरो मेरो नभनी काम गरेँ । कसैलाई पनि कुनै विभेद नगरी काम गरेँ । मेरो अनुभव, इमान्दारिता र लगनशीलतालाई मूल्याङ्कन गरेर नै पार्टीले मलाई अगाडि बढाएको होला भन्ने मलाई लागेको छ ।

माडी नगरपालिकाको नेतृत्वमा निर्वाचित हुने के आधार छन् तपाईसँग ?

निर्वाचित हुने प्रमुख आधार नै आदरणीय मतदाताप्रति मैले गरेको सेवा हो । म हर समय जनताको माझमा रहेँ । उहाँहरूको सुखदुःखमा साथमै भएँ । मैले विगतमा माडीवासीको शिर झुक्ने कुनै काम गरिन् । मेरो विगतको अनुभव, जनतामा गएर काम गर्ने कार्यशैली, समृद्ध माडी बनाउने योजना, माडीवासी जनताले दिएको माया, प्रेरणा र हौसला, सबैसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धताका कारण म मेयरमा निर्वाचित हुने प्रशस्त आधारहरु छन् । हाम्रो पार्टी र राप्रपाको बीचमा माडीमा तालमेल गरेर गएका छौं । त्यो पनि जितको एउटा आधार हो ।

मेयरमा निर्वाचित भएर माडीवासीको शिर निहुरिने कुनै काम गर्ने छैन । समृद्ध माडी बनाउने विषय सबैको साझा दायित्व हो, सबैसँग समन्वय गरेर काम गर्नेछु । हामीसँग प्रतिस्पर्धा गर्ने गठबन्धनले महिलालाई उपेक्षा गरेको छ । माडीका १४ हजार ५ सय ६२ महिला मतदाताको अपमान गरिएको छ । प्रमुख, उपप्रमुखमा महिलालाई अगाडि ल्याएको छैन । महिलाप्रति यस्तो दृष्टिकोण राख्ने दलका उम्मेदवारलाई यहाँका माडीका महिलाले किन मत दिने ? माडीवासी जनताको आशा, भरोसा र माया मप्रति नै देखिएको छ । त्यसैले माडीवासी जनताले मलाई अवसर दिनेछन् भन्नेमा म ढुक्क छु ।

अहिले गठबन्धनबाट मेयरमा कुनै चौधरी उम्मेदवार नभएकोले सजिलो छ भन्ने तपाइँ र तपाइँको पार्टीको आंकलन हो ?

यो जात विशेषको मात्रै विषय होइन । हाम्रो देश नै सबै जातजातिको साझा थलो हो । सबै जात जातिको संस्कृतिमा नै नेपाली संस्कृति विकसित हुन्छ । सबै जातजातिलाई सम्मान गर्दै संरक्षण र सम्वर्धन गर्नु हाम्रो कर्तव्य हो । मेरो जित्ने आधार भनेकै माडीका जनता हुन् । सबै जात जाति, धर्म समुदाय, क्षेत्र, बर्ग र लिङ्गका जनता नै मेरो जितका आधार हुन् । म थारु समुदायमा जन्मिएको एक छोरी हुँ । त्यस समुदायले मप्रति माया गर्नु त स्वाभाविक नै मान्नुपर्छ नि ।

समृद्ध माडी बनाउनको लागि के कस्ता योजना लिएर अगाडि बढ्नुभएको छ त ?

माडी भौगोलिक, सामाजिक, धार्मिक, राजनैतिक दृष्टिकोणले महत्वपूर्ण स्थल हो । यहाँ विकासका सम्भावनाहरू धेरै छन् । माडीका जनता र जमिनको सुरक्षा प्रमुख विषय हो । निकुञ्जसँगको द्वन्द्व हटाएर जनताको हितमा काम गर्नुपर्छ । रिउमा तटबन्धन गरेर पर्यटकीय मार्ग बनाउनुपर्छ । भूमिहीन सुकुम्वासीहरुको स्थायी बसोबास र रोजगारको व्यवस्था गर्नुपर्छ । कृषिमा आधुनिकीकरण, पर्यटकको आकर्षण, विभिन्न जात जातिको संस्कृति संरक्षण, स्वरोजगारको व्यवस्था, माडीलाई शैक्षिक हव बनाउने, माडीका विभिन्न धार्मिक र पुरातात्विक स्थलहरूको संरक्षण र स्तरोन्नति गर्ने, माडीका दक्षिणतिर बग्ने खोलाहरुमा तटबन्धन, बघौडा अस्पतालको स्तरोन्नति लगायतका योजनाहरू लिएर हामी जनतामाँझ गएका छौं । हाम्रा योजनाहरूलाई प्रतिवद्धतापत्रमा समावेश गरी सार्वजनिक पनि गरेका छौं ।

माडीमा भुमिहिन सुकुम्बासीका समस्या छन्, जंगली जनावरका समस्या छन्, ठाडा खोलाहरुको समस्या छ । भूमिखण्डिकरणको समस्या छ यि समस्याको समाधान कसरी गर्ने सोच बनाउनुभएको छ ?

कृषि योग्य भूमि जथाभावी गरिने खण्डीकरणलाई रोक्नुपर्ने मुख्य चुनौती बनेर आएको छ । यसलाई रोक्न नगरपालिकाले ठोस नीति ल्याउँछ ।

राष्ट्रिय निकुञ्जको बाटोको सुधारका लागि हामी दुई/तीन पटक प्रधानमन्त्री कार्यालयमा डेलिगेसन पनि गयौँ । कानुनी हिसाबले पनि त्यहाँ अवरोध छ भने अन्य कुराहरु पनि छ । राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा परेको हुनाले अन्य निकायहरुले पनि अनुमति दिनुपर्ने, आफ्नै खुसीले बनाउन नपाइने जस्ता कुराहरु छन् । निकुञ्ज सम्बन्धि ऐनका कुरा छन् ।

यसमा हामीले सहजीकरण गर्न धेरै प्रयास गर्‍यौँ । यही कारणले यतिसम्मको बाटो निर्माण भएको हो । हामीले यसलाई धुलोरहित बाटो बनाउने भनेर पनि काम अगाडि बढाउनु पर्छ भनेर हामीले सोचेको हो । तर, विविध कारणले त्यहाँ अहिले रोकिएको छ । यसलाई अगाडि बढाउँछौं । जंगली जनावरबाट हुने मानवीय र अन्य भौतिक क्षति कम गराउन तारवार लगाउने योजना पनि छ । निकुञ्जसँग समन्वय पनि गछौं ।

निस्सा बाड्ने काम भूमि सम्बन्धि समस्या समाधान आयोगको काम कर्तव्य र अधिकार भित्रको विषय हो । माओवादीले बाँडेको भनेर जस लिन खोज्नु राजनीतिक बेइमानी हो ।

भूमिहिन सुकुम्वासीको समस्या माडीमा चर्को छ । सुकुम्वासीहरुको स्थानान्तरण र स्थायी बसोवास पूर्जा वितरणको पहल भैरहेको छ । केहीलाई हामीले निस्सा बाँडेका छौं । निस्सा माथि पनि माओवादीले राजनीति गरिरहेको छ । निस्सा माओवादी केन्द्रले बाँडेको होइन । नगरपालिकालाई जे जति अधिकार थियो, त्यो अधिकार क्षेत्रभित्र बसेर हामीले काम गरेर नगरपालिकाले बाँडेको हो । माओवादीले बाँडेको भनेर जस लिन खोज्नु राजनीतिक बेइमानी हो ।

सुकुम्बासी समस्या समाधान गर्ने विषयलाई हामीले प्रतिवद्धता पत्रमा स्पष्ट पारेका छौं । हामीले भूमि सम्बन्धि समस्या समाधान आयोग आयोगसँग समन्वय गरेर रोजगार सहितको स्थायी बसोवासको अवधारण ल्याएका छौ । अझै पूर्णरुपमा हामीले निस्सा प्रदान गर्न सकेका छैनौं । अब विजय भएर फेरि यसलाई निरन्तरता दिने हो । यस कामको लागि समय लाग्छ । हामी आत्तिनु हुँदैन । अहिले चुनावको माहोल छ । यो लगतै यसलाई हामी निरन्तरता दिन्छौं ।

शिक्षा, स्वाथ्य, खानेपानी, सरसफाइ, विकास निर्माणका कुरा लगायत अन्य बाटो, कलभर्टका कुरा सबैलाई हामीले एकदमै समान रुपमा अगाडि बढाउँछौं । यहाँ रहेका धार्मिक सांस्कृतिक स्थल, पर्यटन, कृषिमा प्रवद्र्धनका कुराहरू छन् । धेरै कुराहरुलाई समेटेर लानुपर्ने छ । म यी सबै कुराहरुलाई पूरा गर्न सक्छु । माडी नगरपालिकामा आन्तरिक बजेट कम हुँदा हुँदै पनि हामीले विभिन्न स्रोतहरु खोजेर अहिले माडी नगरपालिकाको बजेट बढाएका छौं । यो हिसाबले पनि समन्वय सहकार्य गरेर काम गर्न सकिन्छ । मैले अगाडि भनेअनुसार नै सुन्दर, हराभारा र समृद्ध माडी बनाउनु नै हाम्रो लक्ष्य हो ।

अन्त्यमा केही भन्नुहुन्छ ?

मैले भष्ट्राचार गर्दिनँ, गर्न पनि दिन्नँ । भष्ट्राचारीहरुका लागि गेट बन्द गर्नेछु । समृद्ध माडी बनाउने विषय सबैको साझा दायित्व हो, सबैसँग समन्वय गरेर काम गर्नेछु । मेयरमा निर्वाचित भएर माडीवासीको शिर निहुरिने कुनै काम गर्ने छैन । यो मेरो प्रतिबद्धता हो । समृद्ध माडी बनाउने विषयमा नै मेरो जीवन समर्पण गर्नेछु । (न्युजकारखाना)