काठमाडौं, असार २७
अबिरल बर्षासँगै आएको बाढीका कारण नेपाली भूमी डुवानमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली डुवान रोक्न सक्रिय हुनुभएको छ । भारतले सीमा क्षेत्रमा पानीको बहाव बढदासमेत ढोका नखोलेपछि प्रधानमन्त्री ओली आफैले भारतीय पक्षसँग समन्वय गरी नेपाली भूमी डुवान पर्नबाट रोक्न सक्रिय हुनुभएको हो ।
प्रधानमन्त्री ओलीले भारतीय पक्षलाई नेपालको तराई क्षेत्रमा डुवाको समस्या समाधानका लागि पानीको बहाव खोल्न आग्रह गरी सर्लाहीको मलंगवा सीमा क्षेत्रको डुवान खुलाउनु भएको हो । प्रधानमन्त्री ओलीकै पलहमा भारतसँगको समन्वयमा सर्लाहीस्थित मलंगवा–भारत सीमामा पानीको बहाव खुलाइएको छ ।
सीमा क्षेत्रमा पानीको बहाव थुनिएपछि शुक्रबार बिहानैदेखि सर्लाहीको मलंगवा बजारका केही ठाउँ डुबान परेको थियो । त्यसलगत्तै प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बाढी, पहिरो गएका क्षेत्रमा उद्धारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरेको र सर्लाहीको सीमा क्षेत्रमा पानीको बहाव खुलाउने प्रयाश भइरहेको जानकारी दिनुभएको थियो ।
‘बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन, सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ,’ प्रधानमन्त्रीले भन्नुभएको थियो । उहाँले सो जानकारी दिएको केही समयपछि नै भारतीय पक्ष पानीको बहाव खोल्न तयार भएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले मलंगवा नगरपालिकाको गोरखकाली भन्ने ठाउँमा थुनिएको पानीको बहावलाई खुलाइएको जानकारी दिनुभयो । सो बहाव खुलाइए पनि बागमती नदीका विभिन्न ठाउँमा बाँध फुटेर बस्ती जोखिममा परेको छ ।
प्रतिक्रिया दिनुहोस्