जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार १३:५५

वडाध्यक्षका उम्मेदवारले मन्दिरको जग्गा गुपचुप बेचेको खुलासा


मोरङ, बैशाख २७ । उर्लाबारी ६ का निवर्तमान वडाध्यक्ष तथा हाल वडाध्यक्ष पदकै उम्मेद्वार चिन्तामणि पौडेलले मन्दिरको जग्गा गुपचुप रुपमा बेचेको खुल्न आएको छ । नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत रहनुभएका पौडेलले उर्लाबारी ६ सुर्यचौकमा अवस्थित महारुद्र शिवालय मन्दिरको जग्गा व्यक्तिलाई बेचेको पाइएको हो ।

पौडेल महारुद्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । पौडेलले उर्लाबारी ५ मा रहेको १८ कट्ठा मन्दिरको जग्गा धिमाल थरका एक व्यक्तिलाई १५ लाख रुपैयाँमा बेचेको मन्दिर समितिकै एक सदस्यले बताएका छन । ती सदस्यका अनुसार उर्लाबारी ५ राम्री होली छेउमा रहेको मन्दिरको जग्गा स्थानीयलाई ठेक्कामा भोगचलन गर्न दिइएको थियो । एक महिना अघि पौडेलले उक्त जग्गा व्यक्तिलाई बेच्ने जबरजस्त निर्णय मन्दिर समितिको बैठकबाटै गराएको स्रोतको भनाई छ ।

उर्लाबारी ५ का षडानन्द भट्टराईको फिल्ड बुकमा रहेको उक्त जग्गा भट्टराई परिवारले २०७० सालमा मन्दिरका नाममा दान दिएको बताइएको छ । तीन कार्यकाल मन्दिर समितिका अध्यक्ष रहेका पौडेलले मन्दिरको स्तोरन्ति गर्नका लागि जग्गा बेच्नु परेको निकटवर्तीहरु लाई बताउदै आएका छन् ।

यसैबीच वार्ड कार्यालय मातहतको शहरी स्वास्थ्य केन्द्रपनि मन्दिर परिसरबाटै संचालन हुँदै आएको छ । फोहोरको डंगुरले मन्दिर परिसर बिरुप देखिएको जनाउदै एक स्थानीयले भने, ‘मन्दिरको फोहोर त हटाउन नसक्नेले चुनाब जिते समग्र वडाको विकास गर्छन् भनेर कसरी आशा गर्नु !’