जनता टाइम्स

२८ असार २०७६, शनिबार ०९:१६

भोलिसम्म देशैभर अविरल वर्षा जारी रहने : यी क्षेत्रमा छ भारी वर्षा र बाढीको सम्भावना


काठमाडौं, असार २८ । बिहीवारदेखि परिरहेको बर्षा आइतवारसम्म जारी रहने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशैभर भइरहेको अविरल वर्षा आइतबार रातिसम्म जारी रहने छ ।
आज र भोलि देशैभर अविरल वर्षा कायम रहने महाशाखाका मौसमविद् समीर श्रेष्ठको भनाई छ । पर्सि सोमबार बिहानदेखि भने मौसममा सामान्य सुधार हुने पूर्वानुमान महाशाखाको छ ।

महाशाखाका अनुसार आज दिउँसो पूर्व र मध्य तराई तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । पूर्व र मध्य पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ । आज राति पूर्वको मध्यपहाडी क्षेत्र र पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । राति नै तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने अनुमान छ ।

आइतबार दिउँसो, पूर्व तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमका केही स्थानमा भारी वर्ष हुने अनुमान छ । पूर्व र मध्य, पश्चिम पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । भोलि राति भने पूर्व मध्य क्षेत्रका थोरै स्थान तथा पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भने धेरै भारी वर्षको अनुमान छ । पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार आज र आइतबार भोलि प्रदेश नम्बर १, २, ३ र गण्डकी प्रदेशका चुरे क्षेत्र भई बग्ने नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ । महाशाखाका अनुसार आगामी दुई दिन पूर्वको कन्काई, सप्तकोसी, तमोर, दूधकोसी, सुनकोसी, कमला, बागमती र पूर्वी राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यस्तै, प्रदेश नम्बर १ र २ का तराई क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम क्षेत्रका होचा भूभाग डुबानमा पर्न सक्ने महाशाखाले अनुमान गरेको छ ।