काठमाडौं, बैशाख २७ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियरसहित ६ जना विरूद्ध मुद्दा दायर गरेको छ । आयोगले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आज ६ जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्रबहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोप्राइटर विजयकुमार यादव र अन्नपूर्ण कन्सट्रक्सनका प्रोप्राइटर ममता देवी यादवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित सडक मर्मतसम्भार र रूख बिरूवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याइ भुक्तानी गरेको भन्ने उजुरी परेपछि आयोगले छानविन अघि बढाएको थियो । त्यसअन्तर्गत रूपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडकखण्ड ग्रावेल सप्लाइ गर्ने र बोटविरूवा रोप्नुपर्नेमा त्यसो नगरिएको आयोगको भनाई छ ।
त्यस उजुरीमाथि अनुसन्धान हुँदा इन्जिनियरहरू गोइत, पाठक र लेखापाल श्रेष्ठले वास्तविक रूपमा भएको कामभन्दा बढी परिमाणको काम गरेको भनी गलत विवरण पेस गरेको अख्तियारको दाबी छ । त्यसरी झूटा बिल भरपाइ बनाएर ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भुक्तानी दिने र लिने गरेको पाइएको अख्तियारले जनाएको छ । आयोगका अनुसार उनीहरूले माँ जानकी निर्माण सेवा, अन्नपूर्ण कन्स्ट्रक्सन र एभरेष्ट निर्माण सेवासँगको मिलेमतोमा भ्रष्टाचार गरेका थिए ।
अख्तियारले आरोपपत्रमा इन्जिनियरद्वयमाथि ६६ लाख ६४ हजार ६९२ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ । त्यस्तै, लेखापाल श्रेष्ठविरूद्ध दुई लाख ५४ हजार ७१० रुपैयाँ, भूपेन्द्र यादवविरूद्ध २१ लाख २४० रुपैयाँ, विजयकुमार यादवविरूद्ध २६ लाख ५४ हजार २१४ रुपैयाँ र ममतादेवी यादवविरूद्ध १९ लाख १० हजार २३६ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्