जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ०५:४२

श्रीलंकामा कानुन तोडनेलाई देख्नासाथ गोली हान्ने आदेश


कोलम्बो २८ बैशाख । श्रीलंकामा सरकार विरोधी हिंसात्मक प्रदर्शन साम्य पार्न सुरक्षाकर्मीलाई कानुन तोड्ने जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश दिइएको छ ।

श्रीलंकाको इतिहासमै पहिलो पटक देखिएको सबैभन्दा विकराल आर्थिक समस्यालाई लिएर प्रदर्शनकारीहरूले राष्ट्रपति गोतावाया राजपाक्षेको राजीनामा मागिरहेका छन् । प्रहरी र प्रर्दशनकारीहरूबीच सडकमा हिंसात्मक भिडन्त भएपछि सोमबार उनका दाजु महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर प्रधानमन्त्रीको राजीनामाले पनि स्थितिलाई शान्त पार्न सकेन । रातभरि पनि हिंसा जारी रहेको थियो ।

मंगलबार सरकारले सार्वजनिक सम्पत्ति लुटपाट गर्ने वा कसैको जीवनमा खतरा पु¥याउन खोज्ने जोकोहीलाई पनि देख्नासाथ गोली हान्न सेनालाई आदेश दिएको हो ।यसैबीच राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न सरकारले दसौँं हजारको सङ्ख्यामा स्थल, जल र हवाई सेनाका फौज परिचालन गरेको छ ।

प्रहरीका अनुसार सोमबारयता भिडन्तमा परेर आठ जनाको ज्यान गएको छ । राजधानीको प्रमुख अस्पतालले दुई सय भन्दा बढी घाइते भएको जनाएको छ । केही प्रहरीले भिडहरूमा अश्रुग्यास प्रहार गर्दा र केही सरकार समर्थित भिडको आक्रमणमा परेर घाइते हुन पुगेको बताइएको छ ।