जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १३:१५

जनतालाई राहत दिन भारतले घटायो पेट्रोल र डिजेलको भाउ


काठमाडौं, ८ जेठ । भारत सरकारले बढेको पेट्रोलियम पदार्थको मुल्यमा जनतालाई राहत दिनलाई कर को दर घटाएको छ । बढेको मुल्यका कारण आलोचना खेप्नुपरेपछि भारत सरकारले इन्धनमाथि लगाइएको कर (एक्साइज ड्यूटी) लाई कम गरेर मूल्य घटाएको हो । करको दर घटाईएपछि अब भारतमा पेट्रोलको मुल्य यसअघिको भन्दा ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँ प्रति लिटर सस्तो भएको छ ।

वित्तमन्त्री निर्मला सीतारमणले पेट्रोलमा ८ र डिजेलमा ६ रुपैयाँ प्रति लिटर एक्साइज ड्यूटी घटाउने निर्णय गर्नुभएको हो । इन्धनमा करको दर घटाउने निर्णयले भारतका आम उपभोक्तालाई राहत हुने बिश्वास गरिएको छ। यति मात्र नभई भारत सरकारले प्रधानमन्त्री उज्जवला योजना अन्तर्गत खाना पकाउने ग्यासमा पनि प्रति सिलिन्डिर २ सय रुपैयाँ छुट दिएर आम मानिसले खरीद गर्ने सिलिन्डरलाई सस्तो बनाइएको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेपछि भारत लगायतका देशहरुमा पेट्रोलियम पदार्थको मुल्य बढेको थियो । भारतमा सबैभन्दा महँगो महाराष्ट्रमा प्रति लिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ ४६ पैसा पुगेको थियो । आन्ध्र प्रदेशमा प्रति लिटर डिजेलको मूल्य १०७ रुपैयाँ ६१ पैसा थियो । नयाँदिल्लीमा पेट्रोल मूल्य १ सय ५ रुपैयाँ ४१ पैसा र डिजेल ९६ रुपैयाँ ६७ पैसा छ । शनिबार मध्यरातिबाट उक्त मूल्यमा कमी आउनेछ ।

नेपालमा भने स्थानीय तहको चुनाव लगत्तै पेट्रोलियम पदार्थको मुल्य ह्वात्तै बढाईएको छ। नेपाल सरकारले एक साता अघि मात्रै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो । बढेको मुल्यअनुसार काठमाडौं उपत्यकामा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।