जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १४:०९

भरतपुरमा रेणुको अग्रता, अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी


चितवन, ८ जेठ । भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरेर सकिएको छ । अहिले २० र २१ को गणना भइरहेको छ । भरतपुर महानगरमा २९ वडा छन् । १९ वडाको मतगणना सकिँदा मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले ३६ हजार ७९७ मत ल्याउनुभएको छ । पाँच दलीय गठबन्धनकोतर्फबाट उमेदवार बनेकी रेणु दाहाल मेयरका अर्का उमेदवार एमालेका विजय सुवेदी भन्दा ७ हजार ९७६ मतान्तरले अगाडि हुनुहुन्छ ।

सुवेदीले २८ हजार ८२१ मत प्राप्त गर्नुभएको छ । दाहालले लगातार आफ्नो अग्रता बढाउँदै लग्नुभएके छ । २०७४ सालको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडा नं‍. १९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ निर्वाचित हुनुभएको छ । कांग्रेसको पकड क्षेत्रका रुपमा लिइने यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गर्नुभएको हो । वडामा तीन हजार ४८८ मत खसेको थियो ।

२०७४ को निर्वाचनमा वडा नं। १९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानले मतपत्र च्यातेपछि यस वडामा पुनः मतदान भएको थियो । मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले जनही एक÷एक लाख जरिवाना तिराएको थियो । पुनः मतदान भएपछि यस वडामा कांग्रेसका कर्णबहादुर गुरुङसँग ३८१ मतान्तरले पराजित भएका प्रकाश तामाङ अहिले गठबन्धनका साझा उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी हुनुभएको हो ।

वडा सदस्यहरुमा तीन जना एमाले र एक जना कांग्रेसबाट निर्वाचित हुनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९३ हजार ७३२ मत गनेर सकिएको छ । अब ३४ हजार १०७ मत गन्न बाँकी छ । हालसम्म कांग्रेसले ११, एमालेले पाँच, एकिकृत समाजवादीले दुई र माओवादी केन्द्रले एक वडा जितेका छन् ।