भक्तपुर, जेठ ९ । सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरसहित सवै जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण, पद तथा गोपनीयताको सपथ कार्यक्रम गरी ५२ जना जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।
सूर्यबिनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा बासुदेव थापा, उपमेयरमासरिता भट्टराईसहित पाँच वडाध्यक्ष गरी ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको छ भने पाँच दलीय गठबन्धनको तर्फबाटकांग्रेसका पाँच जना वडाध्यक्ष सहित १९ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको छ । मेयर थापालाई मुख्य निर्वाचत अधिकृत गोपाल प्रसाद बाँस्तोलाले पद तथा गोपनीयतको सपथ गराउनुभएको थियो भने मेयर थापाले उपमेयर भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
कार्यक्रममा सवै वडाका वडाध्यक्षहरुले आफ्नो प्रतिवद्धताहरु जाहेर गर्नुभयो । निर्वाचनको समयमा आफ्नो प्रतिवद्धतालाई शतप्रतिशत कार्यान्वयन गर्ने उल्लेख गर्दै जनताको माग, चाहना र आवश्यकतालाई विशेष ध्यान दिई समय सापेक्ष रुपमा आगामी पाँच वर्ष अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा उक्त क्षेत्रको प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विगतको पाँच वर्ष सूर्यविनायक नगरपालिका हो कि हैन भन्ने अवस्था थियो भने पछिल्लो समय विकासको हिसावले मुलुककै सर्वोत्कृष्ट रहेको बताउनु भयो । संघ, प्रदेश तथा स्थानीय तहका तीन वटै सरकारको समन्वयमा नगरपालिकामा पूर्वाधार निर्माणको कार्यमा सर्वोत्कृष्ट हुन सफल भएको उल्लेख गर्दै उहाँले अवको पाँच वर्षमा नगरपालिकाले विकासको नयाँ काँचुली फेर्ने बताउनु भयो ।
सूर्यविनायक नगरपालिकाले आफ्नो क्षेत्रभित्र हिड्नको लागि समेत अन्य नगरपालिकाको भुभाग प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्यको लागि बालकुमारीदेखी रानीकोट तथा हनुमन्ते करिडोर निर्माणको क्रममा रहेको जानकारी गराउँदै उहाँले विद्युत प्रशारण लाईनमा २० मिटरको दुई वटा सडक निर्माण गर्ने प्रकृया अघि बढेको जानकारी गराउनुभयो । नगरपालिका क्षेत्रभित्र एक वडा एक मुख्य सडक निर्माणको क्रममा रहेको जानकारी गराउँदै उहाँले उक्त सडकले राजमार्गसँग नगरपालिकाका सवै वडाहरुले सहजै रुपमा पहुँच पुर्याउने विश्वास दिलाउनुभयो ।
सडकको लागि आवश्यक साना तथा ठूला पुलहरु समेत निर्माण सम्पन्न भइसकेको जानकारी गराउँदै उहाँले केही निर्माणको प्रकृयामा रहेको बताउनुभयो । विकासको लागि बजेटको अभाव नहुने उल्लेख गर्दै उहाँले कतिपय ठाउँहरुमा सिमाङ्कन, ढल राख्ने, ठेगदारलाई फलोअप गर्ने लगायतका केही समस्याले निर्माणमा समस्या भइरहेकाले अबका दिनमा नगरपालिकाले उक्त कुराहरुमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । गुणस्तरिय स्वास्थ्य तथा शिक्षा दिनु नगरपालिकाको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले झोलुङ्गे पुल निर्माण भएकालाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । खानेपानीको लागि आवश्यक बजेट रहेको जानकारी गराउँदै सूर्यविनायकमा निर्माणको क्रममा रहेका खानेपानी र ढल निर्माणको कुनै पनि समस्या नहुने बताउनुभयो ।
नगरपालिका क्षेत्रमा सौन्दर्यकरण, हरियाली वातावरण, औद्योगिकरण, पर्यटकीय क्षेत्र, स्मार्ट सिटी, आधुनिक सभागृह, खेलमैदान निर्माणलगायतका कुराहरु गरी तिव्र सहरी विकासको व्यवस्थापन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आफ्नो सम्मान खोज्दा अरुलाई पनि सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो चरित्रलाई सम्मान गर्दा अरुको चरित्रलाई पनि विशेष ध्यान दिन जनप्रतिनिधिहरुलाई विशेष जोड दिनुभयो ।
विगतका कमजोरीलाई सच्याउँदै पाठको रुपमा लिई आगामी दिनको जनमुखी यात्रा तयार गर्नुपर्ने उहाँको जोड थियो । कार्यक्रममा वागमती प्रदेशका सांसद शसीजंग थापा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नगरपालिकाको निर्वाचन अधिकृत, नगरपालिकाका कर्मचारी तथा सुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्