जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १८:०२

घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने


काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने भएको छ । सरकारले आज राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत संघीय ससंदमा पेश गरेको नीति तथा कार्यक्रममा घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई दिने उल्लेख गरिएको हो ।

वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो । यस्तै, निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा सञ्चालन भइरहेका सार्वजनिक संस्थाकोसमेत जिम्मेवारी निजी क्षेत्रलाई नै दिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने भएको छ । त्यसैको तयारी स्वरूप सार्वजनिक संस्थान सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने राष्ट्रपतिले नीति तथा कार्यक्रममार्फत बताउनुभयो ।